जैमिनीले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्दै, तर्जुमा गोष्टी सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २ जेठ २०८० ।

जैमिनीमा स्थानीय पाठ्यक्रम तर्जुमा गोष्टी सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाले लागु गर्ने स्थानीय पाठ्यक्रम सम्बन्धी तर्जुमा गोष्टी गरिएको हो ।

जैमिनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र सिकाई परियोजना, बिवाईसी बागलुङ, भिएसओ नेपाल र हेम्पेल फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा २ दिने पाठ्यक्रम तर्जुमा गोष्टी सम्पन्न भएको जैमिनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म लागु हुने गरी तयार भएको स्थानीय पाठ्यक्रमको मस्यौदामा छलफल गरी प्राप्त सुझावलाई समेटेर पाठ्यक्रम लागु गरिने उहाँको भनाई छ ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम संग सम्बन्धीत रहेर अध्ययन गरिरहनु भएका विज्ञ डाक्टर तुलसी प्रभाष खनालले स्थानीय श्रोत र आवश्यकतालाई मध्यनजर गरी तयार पारिएको पाठ्यक्रम नै प्रभावकारी हुने भएकाले यतातिर ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । कतीपय पालिकाहरुले स्थानीय पाठ्यक्रम देखाउनको लागि मात्रै बनाएको र अरुको साभार गरेको पाइएकाले जैमिनी नगरपालिकाले स्थानीय विज्ञहरुलाई नै पाठ्यक्रम तयार पार्न लगाएमा मात्रै यसको सार्थकता हुने बताउनुभयो ।

अर्का विज्ञ तथा उप प्राध्यापक ज्योति प्रसाद रेग्मीले स्थानीय पाठ्यक्रमको दायरा फराकिलो बनाउनुपर्ने भन्दै कुनैपनि विषयवस्तु नछुटाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रलाई समेटेर बनाइएको पाठ्यक्रम नै प्रभावकारी हुने भएकाले हतारमा गल्ती नगर्न उहाँको आग्रह छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले हरेक क्षेत्रको अध्ययन विना पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण कार्य सम्भव नहुने भएकाले हरेकको विज्ञतालाई उत्तिकै सम्मान गर्न आग्रह गर्नुभयो । पढेर मात्रै विद्धान भइन्छ भन्ने भ्रमलाई चिरेर व्यवहारिक ज्ञानले हासिल गरेको विज्ञतालाई पनि पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिँदै उहाँले जैमिनीको पाठ्यक्रमले विद्यार्थीहरुलाई नैतिकवान र व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले गोष्टी अत्यन्तै प्रभावकारी रहेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । पाठ्यक्रमको मसौदाको ढाँचा तयार गर्ने क्रममा सहभागीहरु विच लामो छलफल गराइएको थियो ।

कार्यक्रमको अवसरमा बोल्दै स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले स्थानीय पाठ्यक्रममा हरेक क्षेत्रको व्यवहारिक कुराहरु उल्लेख गर्नुपर्नेमा जाड दिनुभयो । बिवाईसी बागलुङले शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा काम गरिरहेको भन्दै उहाँले जैमिनी नगरपालिकाले गर्ने यस्ताखाले कार्यहरुमा सँधै साँझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा डाक्टर प्रमोद ढकालले स्थानीय पाठ्यक्रम निर्माण गर्दा भाषीक शुद्धता देखि हरेक कुरामा ध्यान पुराउनुपर्ने बताउनुभयो । अहिलेको सानो लापरवाहीले पछिको लागि ठुलो असर हुनसक्ने भन्दै उहाँले पाठ्यक्रममा के कस्ता विषय समेट्ने हो त्यसको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले स्थानीय पाठ्यक्रमले जैमिनी नगरपालिकालाई समृद्ध र खुसी बनाउन ठुलो मद्दत पुग्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रका विषयवस्तु स्थानीय पाठ्यक्रममा आउने भएकाले यसले विद्यार्थी मात्रै नभएर जैमिनीको बारेमा जान्न खोज्ने जो कोहिलाई पनि भरपर्दो सामग्री बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पाठ्यक्रममा दोहोरो अर्थ लाग्ने भन्दा सरल र बुझ्ने भाषाको प्रयोग गर्न आग्रह गर्नुभयो । प्रत्येक व्यक्तिले सरल तरिकाले बुझ्ने भाषा प्रयोग भएमा मात्र पाठ्यक्रमको औचित्य रहने भन्दै उहाँले स्थानीय पाठ्यक्रमले पहिचान मेट्ने नभई पहिचान दिने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा पूर्व श्रोत व्यक्ति तथा सुन्तलाचौर माध्यामिक विद्यालय दमेकका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले अन्यत्र पालिकामा पाठ्यक्रम लागु भैसक्दा पनि जैमिनीमा ढिलो भएको भन्दै यो गोष्ठीले पाठ्यक्रम निर्माणमा ठुलो मद्दत पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो । शिक्षा क्षेत्रका व्यक्तित्वहरुको संलग्नतामा निर्माण हुने पाठ्यक्रमले जैमिनीको पहिचान बोक्नुपर्ने उहाँको भनाई छ ।

पाठ्यक्रम निर्माण उप समितिका संयोजक झपिन्द्र बहादुर क्षेत्रीले पाठ्यक्रमको औचित्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय पाठ्यक्रमको मस्यौदा तयार गरिएको र सबैको सुझाव समेटेर अन्तिम रुप दिइने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकामा अवस्थित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी सहित सरोकारवालाहरुको सहभागीता रहेको थियो । तर्जुमा गोष्टी सोमबार र मंगलबार २ दिनसम्म सञ्चालन भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार