जैमिनी नगरपालिकाः पूर्वाधार प्रगति शून्य

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, २३ बैशाख २०७८ ।

संघीयता कार्यान्वयनपछि स्थानीय तहमै सेवा सुविधा पाउन थालेपछि कतिपय कामको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला सदरमुकामको चहलपहल वडा कार्यालय र पालिका केन्द्रमा बढी नै देख्न सकिन्छ । तर हचुवाका भरमा निर्धारण गरिएका कतिपय पालिका केन्द्र नाम मात्रका छन्, जहाँ न्यूनतम पूर्वाधार समेत छैन ।
साँघुरो ठाउँको भिरालो जमिन अनि फैलँदो बस्ती । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराको बिशेषता हो यो ।

नगरपालिकाको केन्द्र घोषणा गरेको तीन बर्षपछि अहिले पनि यो ठाउँमा न्यूनतम सेवा सुबिधा छैन । कतिसम्म भने नगरपालिका घोषणा हुँदा एकईन्च कालोपत्रे सडकसमेत थिएन । कुश्मिसेरा बजारको बाटो अहिले पनि कालोपत्रे हुन सकेको छैन । कुश्मिसेरा बजारमा सबैभन्दा ठूलो समस्या पिउने पानीको छ । पालिका मुकाम भइसकेपछि कम्तिमा पिउने पानीको समस्या समाधान हुनेमा स्थानीय आशाबादी थिए ।

नगरपालिका घोषणा हुनासाथ रातारात विकास हुने सपना देखेर बजार झरेकाहरु समस्या जस्ताको त्यस्तै देख्दा कम्ति निराश भएका छैनन् । जैमिनी नगरपालिका ९ पैयुँबाट कुश्मिसेरामा बसाई सरेर आएकी मिना केसी भन्नुहुन्छ, “विकास होला भनेर कुश्मिसेरामा घर बनाइयो अहिले पछुतो लागेको छ ।”
कुश्मिसेरामा बसाई सरेर आउनेको संख्या बढ्दो छ । यसको तथ्यांक नगरपालिकासँग नभए पनि बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीसको भनाइमा पछिल्लो तीन बर्षमा करिव १५० परिवार थपिएका छन् । समितिको तथ्यांकले भन्छ, कुश्मिसेरामा भाडामा बस्नेको संख्या घरधनीकै हाराहारीमा छ ।

नगरपालिकाको केन्द्र बनेपछि सेवा सुविधा पाउने लोभमा कतिले त गाउँको जग्गाजमिन त्यसै छोडेर आएका छन् भने कौडीको भाउमा गाउँको जग्गाजमिन बेचेको पैसाले अधिकांशले सानो टुक्रा जग्गा किनेर घर बनाएका छन् । मापदण्ड कहिँकतै पालना भएको छैन । कतिसम्म भने नगरपालिकामा बनेका करिव ८० घर दुईआना क्षेत्रफलमा बनेका छन्, त्यो पनि निर्माण अनुमती नलिईकन । नगरपालिकाका इन्जिनीयर बिवेक सापकोटा भन्नुहुन्छ, “यसरी बसेकाहरुले न मापदण्डको ख्याल गरे न त नगरपालिकासँग सुझाव नै लिए ।” उहाँको भनाईमा साँघुरो ठाउँ, त्यसमाथि अव्यबस्थित संरचना कुश्मिसेरामा बजार विस्तारको मुख्य चुनौती बनेको छ ।

कुश्मिसेरा उपल्लोबजारः यहाँ अहिले कालोपत्रे गर्ने तयारी थालिएको छ ।

त्यसो त नगरपालिकाले सुरुमा १८ मिटर बाटो कायम गर्ने सरकारी मापदण्ड लागू गर्न खोजेको थियो । तर स्थानीयको अबरोधपछि उक्त मापदण्ड लागू गर्न नसकिएको स्वीकार्नुहुन्छ् नगरप्रमुख इन्द्रराज पौडेल । स्थानीयका लागि सहज हुने र बस्ती पनि जोगाउने गरी मापदण्ड तयार गरिने उहाँ बताउनुहुन्छ । मापदण्डमा नपरेका संरचनाका सम्बन्धमा सम्बन्धित घरधनी जवाफदेही हुनुपर्ने नगरप्रमुख पौडेलको मत छ । तर स्थानीयले भने निश्चित मापदण्ड बनाएर नगरपालिकाले नक्सापास गरिदिनुपर्ने माग राखेका छन् । नगरपालिकाले मापदण्ड कायम गर्न ढिलाइ गरेकाले समस्या थपिएको बताउने स्थानीय ताराकेशर सापकोटा भन्नुहुन्छ, “मापदण्ड लागू हुनुअघि बनेका घरको प्रकृति हेरेर नक्सापास गरिदिनुपर्छ ।”

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नगरपालिका हुन कम्तिमा पनि पेटीसहितको सडक, विद्युत, सञ्चार, फोहोर व्यवस्थापन, खानेपानी तथा सरसफाई सुविधा, सार्वजनिक शौचालयसहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला लगायत सुविधा हुनुपर्दछ । खानेपानी सुविधा, सार्वजनिक शौचालय सहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला अझै पनि बनेका छैनन् । न्यूनतम पूर्वाधार समेत नभएको ठाउँलाई नगरपालिका बनाउँदा सुरु विन्दुबाटै काम गर्नुपरेको नगरप्रमुख पौडेलको भनाई छ । नगरपालिका क्षेत्रभर नभए पनि कुश्मिसेरा बजारमा भने बल्ल सामान्य पूर्वाधार निर्माणको काम अघि बढेको पौडेलले बताउनुभयो । उहाँका अनुसार टेलिफोन, करिव ३ किलोमिटर कालोपत्रे सडक, सार्वजनिक शौचालय तथा बजारबाट उठाएको फोहोर विसर्जन गर्ने ठाउँको व्यबस्था भइसकेको छ । यो सुबिधा सबै वडामा पुर्याउने योजना उहाँले सुनाउनुभयो ।

कुश्मिसेरा उपल्लो बजारको बाटो ढलान हुँदै

 

मासिदै खेतीयोग्य जमिन

नगरपालिका केन्द्र घोषणासँगै यहाँको उब्जाउ जमिन मासेर घर बनाउने क्रम बढेको छ । जबकि हिजोका दिनमा यहाँको ३०० रोपनी खेतीयोग्य जमिनबाट एक हजार मुरी बढी धान भित्रिन्थ्यो । अधिकांश बलेवाबासीको जग्गा थियो यहाँ । धानमात्र होइन, गहुँ र आलुको उत्पादन कम्ति राम्रो हुदैनथ्यो । खोला नजिक कुलोको पानीले थोरै मेहेनतमा धेरै अन्न उत्पादन हुन्थ्यो । यति राम्रो खेती हुने जमिन अहिले कंक्रिटको जंगल बन्ने क्रममा छ । क्याप्टेन पदमबहादुर श्रीसको भनाईमा बजार विस्तारका कारण २०० रोपनी भन्दा बढी खेतियोग्य जमिन घडेरीका लागि टुक्र्याइएको छ । ५ रोपनी जग्गा त जैमिनी नगरपालिकाले नै ओगटेको छ । यतिमात्र होइन, नगरपालिकाले नै बस्ती बिस्तारको तयारी गरेको छ । १८ रोपनी ७ आना मध्ये जैमिनी नगरपालिकाको लागि ५ रोपनी छुट्याएर १३ रोपनी ७ आना जग्गा प्लटिङ गरेर बस्ती बिस्तार गर्ने तयारी भइरहेको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाको भवन निर्माणस्थल

बस्ती बिस्तारलाई ध्यानमा राखेर बजार क्षेत्रमा ८ मिटरको बाटो कायम गर्ने, संरचना निर्माणअघि अनिवार्य नक्सापास गर्नुपर्ने जस्ता मापदण्ड लागू गर्नुपर्नेमा नगरपालिकाका ईन्जिनियर विवेक सापकोटा जोड दिनुहुन्छ । तर नगरपालिकाले अहिलेसम्म कुनै मापदण्ड बनाएकै छैन । बाटो छोडेर घर बनाउने, निर्माण शुरु गर्नुअघि नक्सापास गर्नुपर्ने भनिएपनि कति प्रतिशत छोड्ने भन्ने निश्चित छैन ।
केन्द्र वरिपरी सेवा सुविधा बिस्तार गरी बजार क्षेत्र फराकिलो बनाउने, जथाभावी संरचना बनाउन नदिने जस्ता नियम कडाईका साथ पालना गराउने नगरपालिकाको तयारी छ । यसका लागि खाका कोर्ने काम भइरहेको नगरपालिकाका इन्जिनीयर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नक्सा पास नगरी घर बनाउन नपाउने, ८ मिटर बाटो छोडेर मात्र संरचना बनाउनुपर्ने, संरचना जोडेर बनाउन नपाइने, निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य लिनुपर्ने, दुई आना भन्दा कम जग्गामा घर बनाउन पाइने छैन ।

व्यवस्थित नभए पनि कुश्मिसेरा बजारको ईतिहास लामै छ । २०२९ सालमा स्थानीय लक्ष्मीनारायण सापकोटाले यो बजारलाई व्यवस्थित बनाउने सोचले विकासका काम अघि बढाउनुभएको थियो । घरेलु उद्योग यहीँ थियो । विजुली बत्ति यहीँबाट निकालिएको थियो । कुश्मिसेरा बजार उतिबेलै झलमल्ल हुन्थ्यो । यो अहिले कथाजस्तो बनेको छ । एक समय राम्रै चर्चा कमाएको बजारमा बस्ती व्यवस्थित हुन सकेन जसले गर्दा पुराना संरचनाले निरन्तरता पाएनन् ।

११८.७१ वर्ग किमि क्षेत्रफलमा फैलिएको जैमिनी नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ३१ हजार ४ सय ३० छ । जिल्ला सदरमुकाम बागलुङको चहलपहल दश ठाउँमा विकेन्द्रिकरण भएको छ । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।
(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिताः रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो