जैमिनी फेरिपनि डाक्टर विहिन, डाक्टरको उपचार लिन बागलुङ पोखरा जानुपर्ने बाध्यता

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, ३२ साउन २०७८ ।

बागलुङको जैमिनी फेरिपनि डाक्टर विहिन भएको छ । करारमा रहेका डाक्टरको अवधि सकिएपछि जैमिनी डाक्टर विहिन बनेको हो ।

नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक केन्द्रमा एकजना डाक्टरको दरबन्दी भएपनि डाक्टर अध्ययन विदामा गएकाले करारमा डाक्टरको नियुक्ती गरिएको थियो । करारमा नियक्ती भएका डाक्टरको पनि असार मसान्तमा करार अवधी सकिएपछि अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा बिभागमा डाक्टर पठाउन पत्राचार गरेपनि अझैसम्म नआएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । यसअघि करारमा आउनुभएका डाक्टर राजु भट्टराई क्षेत्रीको गत बैशाख १४ गते करार अवधि सकिएको थियो । तर कोरोना संक्रमणको अवस्था र तत्कालको समस्या समाधानको लागि उहाँलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो ।

जैमिनी नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड १९ अस्थाई अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावित हुने देखिएको छ । डाक्टर नभएतापनि अहिले स्वास्थ्य केन्द्रका अन्य स्वास्थ्यकर्मीहरुले नै कोरोना संक्रमितको व्यवस्थापन गर्ने संयोजक आचार्यको भनाई छ ।

सरकारको मापदण्ड अनुसार कोरोना अस्पतालमा कम्तिमा एकजना डाक्टर, एक जना प्यारामेडिक्स् एकजना स्टाफ नर्स र एक जना कार्यलय सहयोगी सहित चारजना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर जैमिनीमा एकजना पनि डाक्टर नहुँदा कोभिड उपचारमा समस्या पर्ने देखिएको छ ।

याे पनि पढ्नुहाेस् ।

कोरोना संक्रमण बढ्दै जाँदा जैमिनी डाक्टर विहिन, कोहि अध्ययन विदामा, कसैको करार सकियो

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थाई डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आउनुभएको थियो ।

अहिले पनि मन्त्रालयमा निरन्तर कुराकानी भैरहेको र बिभागबाट छिटै सरकारी कोटामा अध्ययन गरेका मेडिकल अधिकृत भएपनि पठाउनेमा आफुहरु विश्वस्त रहेको संयोजक आचार्यले बताउनुभयो ।

मन्त्रालय र बिभागमा पहलकदमी भैरहेपनि डाक्टर अभावका कारण समस्या भएको छ । प्रायः प्राइभेट पढेका डाक्टरहरुले सुगम ठाउँ नै खोज्ने भएकाले सरकारी छात्रबृत्तिमा पढेकाहरुले दुर्गममा सेवा गर्नैपर्ने प्रावधान अनुसार त्यस्ता डाक्टरहरु आउने भएपनि अहिले करारमा नियुक्ती गरेर कुश्मिसेरा आइहाल्ने डाक्टर नभएको स्वास्थ्य सेवा बिभाग टेकुले जनाएको छ ।
अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार त्यहाँका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । श्रोत र साधन नभएका कारण डाक्टर भएपनि जटिल प्रकारका उपचार कुश्मिसेरामा सम्भव थिएन । कार्यभार बढेपनि जनताको सेवामा लाग्नुपर्ने बाध्यतामा अहिले स्वास्थ्यकर्मी रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो ।

यस्तै कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब टेक्निसियनको पनि अभाव भएको छ । टेक्निसियन सफल शर्माको सरुवा भएपछि अहिले कुश्मिसेराको ल्याब पनि सञ्चालन हुन सकेको छैन । करिव २ महिना अघि उहाँको चितवनमा सरुवा भएको थियो ।

डाक्टर र ल्याब टेक्निसियन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरको उपचार सेवा दिनुपर्ने विरामीहरुलाई रेफर गरेर अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार