महालक्ष्मी विकास बैंकको ठगी धन्दाः धिताे राखेकाे सुन बेचेर नक्कली सुन भिरायाे, कथा यस्ताे छ

याे सामग्री सेअर गर्नुहाेस्

युनिक श्रेष्ठ

काठमाडाै, १६ भदाै २०७८ ।

महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको आफ्नो सुन फिर्ता माग्दा नक्कली भएको खुलेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन्।

त्यसबापत् उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन्। सुन धितो लिँदा बैंकले जाँचेरै लिएको बिष्णु महर्जन बताउँछिन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सुन धितो राख्दा बैंकले जाँचेर नै राख्नुपर्ने र फिर्ता दिँदा पनि जाँचेरै दिनुपर्ने बताए।

विष्णुले बैंकलाई हरेक वर्ष आफूले सक्दो ब्याज-सावा तिर्ने गर्थिन्। त्यसरी नै आफूले लिएको ऋण घटाउँदै गइन्। तिर्दै जाँदा गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो।

पछिल्लो समय कोरोना भाइरसको महामारीमा भएको निषेधाज्ञाका कारण उनले केही महिनायता ब्याज तिर्न सकिरहेकी थिइनन्।

‘निषेधाज्ञा हुँदा आर्थिक समस्या भयो। म बिरामी पनि परें। काम पनि गर्न नसक्दा मैले पाँच महिनाको ब्याज तिर्न सकिनँ,’ महर्जनले सेतोपाटीसँग भनिन्,’बैंकले पैसा माग्न दिन-रात फोन गरेर टर्चर दियो।’

त्यसैबीच बैंकले महर्जनलाई गत असार ३ गते बोलायो। त्यहाँ पुगेर विष्णुले ऋण चुक्ता गर्न बैंकसँग केही समय मागिन्। तर मौखिक निवेदन नहुने भन्दै बैंकले लिखित निवेदन माग्यो।

‘मलाई लेख-पढ गर्न आउँदैन। तपाईंहरू लेखिदिनु म सही गर्छु भनेपछि लकडाउन खुलेको १५ दिनपछि तिर्नू भनेर भन्नुभयो,’ उनले भनिन्,’१५ दिन गाह्रो हुने भएकोले भदौ १० गते सम्मको समय दिनू भनेर मागें।’

बैंकले लिखित कागजी रूपमा १५ दिनभन्दा बढी समय दिन नमिल्ने बताए पनि महर्जनलाई भदौ १० गते सम्मको समय दिइयो।

उनी पैसा जुटाउनतिर लागिन्। भदौ १० गतेभित्र जसरी पनि तिर्नु पर्ने हुँदा उनले आफन्त तथा साथीहरूसँग सहयोग लिइन्।

उनले जसोतसो रकम जुटाएर भदौ ९ गते करिब १२ बजे बैंक पुगिन्। उनी सिधै म्यानेजर सुनिलकुमार नेपालको कोठामा पुगिन्। ऋण विभागको प्रमुख पनि त्यहाँ आइपुगे। उनले बैंकमा आठ लाख ३९ हजार रुपैयाँ चुक्ता गरिन्। १५ हजार नगद केही समय अघि नै तिरिसकेकी थिइन्।

उनी बैंकले केही ब्याज छुट देला की भन्ने आशमा थिइन्।

ब्याज छुट गर्नेबारे ऋण विभागका प्रमुखले हेड अफिसमा कुरा गर्नुपर्ने भन्दै एक-डेढ घन्टा कुर्नुपर्ने बताए। उनी कुर्न तयार भइन्। तर ऋण प्रमुखले प्रष्ट कुरा भने गरेनन्।

‘ऋण विभागमा विनोद सर हुनुहुन्थ्यो। यो धितो राखेको सुन बेचेर तिर्छु भनें,’ उनले भनिन्।

बैंकका ऋण विभाग प्रमुखले म्यानेजर नेपालसँग कुराकानी गर्नुपर्ने भन्दै भेट्न गए। केही बेरपछि एकैछिन बाहिर गएर आउँछु भन्दै निस्किए। त्यसपछि उनी सम्पर्कविहीन भए।

निस्किएर दुई घन्टासम्म पनि विष्णु बैंकमै कुरेर बसिन्। तर ऋण विभाग प्रमुख फर्किएनन्। त्यसपछि उनी म्यानेजर नेपाललाई भेट्न गइन्।

ब्याजसहित तिरेर जान भन्दै म्यानेजर झर्किएपछि उनले आफ्ना दाइलाई बोलाइन्। दाइ आउँदासम्म चार बजिसकेको थियो।

उनका दाइले म्यानेजरलाई भेटेर ऋण चुक्ता गर्छौं सामान फिर्ता गरिदिन आग्रह गरे। तर त्यसको जवाफमा म्यानेजर नेपालले भने,’सामान दिन्छु तर खोलेर हेर्न पाइन्न।’

सुरूमा सामान जाँचेर लिएको बैंकले पछि फिर्ता लिन जाँदा भने नहेर्न भनेको उनले बताइन्। त्यसो भनेपछि विष्णु र उनका दाइले सुन देखाउन जिद्दी गरे।

तर म्यानेजरले आनाकानी गरे। केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए।

साँझ साढे ६ बजिसकेको थियो तर बैंक सुन फिर्ता दिन तयार भएन। पछि म्यानेजरले कैफियत भएको कुरा सुनाए र भने, ‘सुन नक्कली रहेछ।’

कसरी सुन नक्कली निस्कियो त भन्ने प्रश्न गर्दा सात महिना अघि जाँच गर्दा सो सुन नक्कली निस्किएको म्यानेजर नेपालले सुनाए। तर त्यसबारेमा बैंकले विष्णुलाई जानकारी गराएको भने थिएन।

‘६ वर्ष भयो मैले सुन राखेको। सात महिना अघि जाँच्दा सुन नक्कली भयो रे। हामीलाई केही जानकारी पनि छैन। सिधै बैंकले ठगी गरेको भयो नि,’ महर्जनले भनिन्,’सोझो भएपछि त यत्तिकै थमाएर पठाउने कसैले थाहा पाउँदैनन् भन्ने सोचेछन्। लिँदा भने उनीहरूले जाँचेर लिएको याद छ मलाई।’

हरेक वर्ष ब्याज तिर्दासम्म पनि नक्कली नभएको सुन अहिले ऋण चुक्ता गरेपछि भने कसरी नक्कली निस्कियो भन्ने उनी प्रश्न गर्छिन्।

सुन नक्कली भएको कुरा बाहिरिएपछि उनीहरूले प्रहरीलाई खबर गरे। सोही रात सबै जना महानगरीय प्रहरी परिसर जावलाखेल पुगे। बैंकका सिइओ बोधराज देवकोटासहित सबैजना राति साढे ११ बजेसम्म छलफलमा बसे।

सिइओ देवकोटाले शाखामा के भएको हो भन्नेबारे बुझ्न दुई दिनको समय मागेका थिए। सुन दिन नसकेमा त्यस बराबरको पैसा दिने भन्दै कागजसमेत गरेको विष्णुले बताइन्।

दुई दिनपछि ऋण शाखा प्रमुख विनोदले उनलाई फोन गरेर झमेलामा नपर्न अन्यथा समस्या पर्ने भनेर धम्क्याएको विष्णुले बताइन्। उनले जेलसम्म हाल्ने कुरा गरेको विष्णुले सुनाइन्।

‘यदि मैले ठगेको भए त मलाई उहिल्यै जेल हाल्नुपर्थ्यो नि। ऋण चुक्ता नगरुञ्जेल सबै सक्कली अनि तिरेपछि नक्कली?,’ उनले भनिन्।

त्यसपछि उनी जाहेरी लिएर गत शुक्रबार ललितपुर परिसर पुगिन्। आइतबार म्यानेजर सहितलाई छलफलको लागि परिसर बोलाइएको थियो। तर नआएपछि उनीहरू फर्किए।

परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पनि यसमा अनुसन्धान भइरहेको बताए।

‘हामीले अनुसन्धान सुरू गरिरहेका छौं। बुझ्दैछौं,’ उनले भने,’हामीले राखेको सुन ऋण तिरिसकेपछि नक्कली पारिएको भनेर पीडितहरू जाहेरी लिएर आउनुभएको थियो। सबै बुझेर अगाडि बढ्छौं।’

सुन कसरी नक्कली भयो भन्नेबारेमा सेतोपाटीले प्रतिक्रिया लिन खोज्दा महालक्ष्मी बैंकको कुमारीपाटी शाखाका शाखा प्रबन्धक र बैंकका सिइओ देवकोटा सम्पर्कमा आउन चाहेनन्।

यसअघि सो बैंकका कर्मचारीहरु अनियमितताको आरोपमा पक्राउ परेका थिए।  याे सामग्री सेताेपाटी डटकमबाट अक्षरत  साभार गरिएकाे हाे । यसकाे सर्वाधिकार सेताेपाटीमा निहित रहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो

मनसुन आइतवारसम्ममा देशभर फैलिने, जाेखिमबाट सतर्क रहन आग्रह

पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र