संखुवासभा हत्याकाण्डः कार्की परिवारकै छिमेकी पक्राउ, बयान फेरिरहेपछि अनुसन्धानको घेरामा

याे सामग्री सेअर गर्नुहाेस्

विराटनगर, २७ भदाै २०७८ ।

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

‘तेजबहादुर मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ’

संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए ।

तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

के हो हत्याको कारण ?

तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी बताउँछ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ । स्रोत भन्छ, ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको छ ।’

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’

मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो । तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो ।

पहिलो शंका कमजोर भएपछि प्रहरी प्राविधिक विश्लेषणमा जुट्यो । घटना घट्नु हप्ता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाएन । घटनास्थल आसपास दुई वटा बीटीएस टावरको कनेक्सन थियो । घटनास्थलबाट १० किलोमिटर आसपास १५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । उनीहरुमध्ये शंकास्पद केही नम्बर प्रयोगकर्तालाई प्रहरीले बोलाएर सोधपुछ पनि गरेको थियो ।

सोधपुछका क्रममा लोकबहादुरले बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।
तर ठोस उपलब्धि हात नलागेपछि प्रहरीले निष्कर्ष निकाल्यो, ‘घटनामा बाहिरका मान्छे सहभागी छैनन् ।’ अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार भौगोलिक विकटताका कारण बाहिरका मान्छे आएर हत्या गरेर भागिहाल्न सक्ने अवस्था थिएन । तर तालिमप्राप्त कुकुरको प्रयोग पनि प्रभावकारी भएन ।

त्यसपछि प्रहरीले मानव जनशक्तिबाटै अनुसन्धान सुरु गर्‍यो । आशंकाको घेरामा गाउँलेहरु परे । पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनी थिए । उनैले लगातार बयान फेर्न थालेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी बढायो ।

त्यसक्रममा उनको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरुले बताएका थिए । तर सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

घटनाबारे अन्तर्वार्ता दिइहिँडे

लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।

‘बडाउ(तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।’

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनीबुहारी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या आरोपमा उनै लोकबहादुर पक्राउ परेका छन् । याे समाचार अनलाइन खबरबाट हुवहु साभार गरिएकाे हाे । यसकाे सर्वाधिकार अनलाइन खबरमा निहित रहेकाे छ । 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो