कास्की, १४ कात्तिक २०७८ ।
नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार पाउनुभयो ।
सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाउनुभयो भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाउनुभयो । प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा हुनुहुन्थ्यो । नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।
देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ ।
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/2023/08/VAT-PAN-Working-Notice.jpg?fit=1080%2C1080&ssl=1)
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/banner-ad.gif?fit=1140%2C120&ssl=1)
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/NEWS-Portel-Website.jpg?fit=1080%2C1080&ssl=1)
प्रतिक्रिया दिनुहाेस्