अपाङ्गता दिवसः जैमिनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, नगरमा अपाङ्गताको संख्या बढि

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ मंसिर २०७८ ।

३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जैमिनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा बागलुङको जैमिनी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरु, उनिहरुका परिवार र सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा अपाङ्गता समन्वय समिति जैमिनीका संयोजक तथा नगर उप प्रमुख लिला रानाले आफ्नो कार्यकालमा धेरै कुरा सिकेको बताउँदै अपाङ्गता भएकाहरुलाई सरकारबाट पाउने सेवा सुविधाको विषयमा कुनै कमी नगरेको बताउनुभयो । कतिपय अपाङ्गता भएका व्यक्ति तथा उनिहरुका परिवारहरुले राज्यले दिने आर्थिक सहायतामा मात्रै बढि जोड दिने गरेको भन्दै उहाँले आर्थिक मात्रै नभई अन्य सुविधाहरु पनि उपभोग गर्न आग्रह गर्नुभयो । नागरिकहरुले ‘क’ र ‘ख’ वर्गका कार्ड बनाउनमा नै बढि जोड दिने गरेको तर कार्यविधिमा उनिहरु ‘क’ र ‘ख’ को कार्ड पाउने वर्गमा नपरे सिफारिस भएका ‘ग’ र ‘घ’ वर्गको कार्ड समेत नलाने गरेको उहाँको भनाई छ । आफ्नो अधिकार प्रयोग गर्न तथा राज्यका बिभिन्न सेवा सुविधा उपभोग गर्न ‘ग’ र ‘घ’ वर्गको कार्डले काम गर्छ भन्ने चेतना जगाउनुपर्नेमा रानाले जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा संरक्षकहरुले नगरपालिका तथा सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई तोकिएको ठाउँमा दिइने सहुलियतको बारेमा अनुगमन हुनुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिका संरक्षक पुणेन्दै सापकोटा र अपाङ्गता सञ्जाल जैमिनीका सदस्य भुषण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने माग गर्नुभएको छ ।

कार्यक्रममा शुभेक्षा एफ एम कुश्मिसेराका प्रवन्ध निर्देशक तथा जिल्लाखबर डटकमका सञ्चालक सुजन प्रेमीले सरकार र पालिकाले अपाङ्गता भएकाहरुलाई आवश्यक सामग्री मात्रै नभई उनिहरुलाई आवश्यक सिप र तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएकाहरुलाई सामान्य राहत दिएर मात्रै नहुने भन्दै उहाँले उनिहरुको अवस्था अनुसारको सिप र क्षमता विकास गराउनुपर्ने बताउनुभयो । फरक क्षमता भएका व्यक्तिहरुको चाहना र उनिहरुको परिवारलाई समेत आवश्यक परेमा सिपमूलक तालिम दिएर वा सहुलियत दिएर स्वरोजगार बनाउन सके अपाङ्गता भएकाहरुको जिवनस्तर सहज बन्ने उहाँको भनाई छ ।

जैमिनीमा अहिले ५ सय ८४ जनाले अपाङ्गताको परिचयपत्र लिएको महिला तथा सामाजिक विकास शाखाकी प्रमुख देवी सुनारले जानकारी दिनुभयो । जैमिनी नगरपालिका हुनु अघि साविक महिला विकास कार्यलय बागलुङबाट ५ सय २२ जनाले परिचयपत्र पाएको र जैमिनी नगरपालिका स्थापना पछि ७४ जनालाई परिचयपत्र वितरण गरिएको उहाँको भनाई छ । जैमिनी नगरपालिकाले १९ जनालाई ‘क’ वर्गको, ३५ जनालाई ‘ख’ वर्गको, ८ जनालाई ‘ग’ वर्गको र १२ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरेको तथ्यांक रहेको छ । अहिले नेपाल सरकारले ‘क’ र ‘ख’ वर्गकाे परिचयपत्र पाएकाहरूलाई मात्रै सामाजिक सुरक्षा भत्ता अन्तरगत आर्थिक सहयाेग दिँदै आएकाे छ ।

हरेक बर्ष अंग्रेजी महिनाको डिसेम्बर ३ तारिखका दिन यो दिवश मनाउने गरिएको छ । यो बर्ष ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बनाइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो