सञ्चार राज्यमन्त्री सवार गाडी दुर्घटना, साँघुराे बाटाेमा मोड्न खोज्दा गाडी खेतमा पुग्याे

याे सामग्री सेअर गर्नुहाेस्

सप्तरी, २१ पुस २०७८ ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो दुर्घटना भएको छ । बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिकामा राज्यमन्त्री सवार गाडी दुर्घटनामा परेको हो ।

विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज १ झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो । राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताउनुभयो । राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो ।

छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गत मङ्सिर ८ गते फेला परेको थियो । मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन । रासस


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो