नेपाल टेलिकमको गुणस्तरहिन सेवाले कुश्मिसेरावासी हैरानः न फोन लाग्छ, न नेट चल्छ

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ जेठ २०७९ ।

नेपाल टेलिकमको गुणस्तरहिन सेवाले बागलुङको कुश्मिसेरावासी हैरान भएका छन् । नेपाल टेलिकमको एडिएसएल ईन्टरनेट र मोबाइलको सेवा गुणस्तर नहुँदा सेवाग्राहीहरु चिन्तित भएका हुन् ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा चार बर्ष अघि देखि ल्याण्डलाईन टेलिफोन सेवा र एडिएसएल ईन्टरनेट सेवाको बिस्तार भएपनि सेवा गुणस्तर हुन नसकेको बजारवासीहरुको गुनासो छ । टेलिकममा पटक पटक जानकारी गराएपनि समस्या समाधान नभएको भन्दै बजारवासीहरुले नेपाल टेलिकमको लापरवाहीका कारण आफुहरुले पैसा तिरेर पनि गुणस्तरीय सेवा लिन नपाएको गुनासो गरेका छन् ।

फोन गर्दा समयमा फोन नलाग्ने, बोल्दा बोल्दै नेटवर्क हराउने, बिचैमा फोन काटिने, फोनमा कुरा गर्दा नबुझिने समस्या आएको भएपनि नेपाल टेलिकम बागलुङले कुनै सुनुवाई गरेको छैन । यस्तै टेलिकमको एडिएसएल ईन्टरनेट पनि निकै सुस्त गतिमा चल्ने र बेलाबेलामा चल्नै छोड्ने समस्या रहेको छ । टेलिकमको यस्तो सेवाका कारण कतिपय आकस्मिक कामहरु समेत प्रभावित बन्ने गरेको बजारवासीहरुले गुनासो गरेका छन् ।

कहिलेकाहीा आकस्मिक फोन गर्नुपर्ने हुँदा नेटवर्क नै नटिप्ने, नेटवर्क देखाएपनि फोन नलाग्ने समस्याले आफूहरुले हैरानी ब्यहोर्नुपरेको सेवाग्राही रिना थापाले जिल्लाखबर डटकमसँग गुनासो गर्नुभयो । एडिएसएल ईन्टरनेट पनि अति नै सुस्त हुँदा सामान्य म्यासेन्जर कल समेत हुन नसक्ने उहाँको भनाई छ ।

सामान्य डकुमेन्टहरु ईमेलमा पठाउँदा पनि जान समय लाग्ने, केहि सामग्री डाउनलोड गर्दा समय लाग्ने र बिचमा नै टुट्ने समस्या रहेको छ । महिना पुग्नासाथ पैसा तिर्नुपर्ने भएपनि नेपाल टेलिकमको सेवा गुणस्तर नहुँदा म्यासेन्जरमा सामान्य फोटो समेत नजाने समस्या देखिएको छ ।

नेपाल टेलिकम बागलुङले भने आफ्नो सेवा गुणस्तरीय नै रहेको र कहिलेकाहीँ प्राविधिक बाहेक कुनै समस्या नरहेको दावी गर्दै आएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार