बागलुङमै फल्न हुन थाल्याे इटालियन स्याउ, एक वर्षमै उत्पादन सुरू

याे सामग्री सेअर गर्नुहाेस्

गलकोट (बागलुङ), ४ असोज २०७९ ।

बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो ।

उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्‍यो । दश वर्षअघि उहाँले लगाउनुभएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहनुभएका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गर्नुभएको स्याउखेतीप्रतिको रुचि उहाँमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसक्नुभएका जुमबहादुरले जनआन्दोलनपछि परम्परागत रुपमै स्याउखेती थाल्नुभएको थियो ।

स्याउ राम्रो उत्पादन हुन नसक्दा उहाँकोे मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् तर जुमबहादुरले आफ्नो व्यक्तिगत रुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गर्नुभयो ।

पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहनुभएका जुमबहादुरले बताउनुभयो ।

“मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ”, जुमबहादुरले भन्नुभयो, “यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहुँदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।”

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन ।

आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई समेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रम चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् ।

ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले एक सय ८१ वटा बिरुवामध्ये केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउनुभयो ।

यस्तै, ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाउनुभएकामा १६ वटाको हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाउनुभएको हो ।

ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गर्नुभएको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

“छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाट उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।” उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ ।

ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताउनुभयो ।

इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दा किसानको लागत प्रतिबिरुवा रु. तीन सय पर्ने गरेको छ ।

परम्परागत रुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामो आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ । छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिक रुपमा नै स्याउखेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १०केजीदेखि सुरु भएर वयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो