काठमाण्डाै, ६ कात्तिक २०७९ ।
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ ।
काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ।
यस्तै कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ । आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ ।
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/2023/08/VAT-PAN-Working-Notice.jpg?fit=1080%2C1080&ssl=1)
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/banner-ad.gif?fit=1140%2C120&ssl=1)
धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाण्डौको वैद्यखानामा विशेष पूजा हुन्छ।
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/NEWS-Portel-Website.jpg?fit=1080%2C1080&ssl=1)
प्रतिक्रिया दिनुहाेस्