सन्ध्या आचार्य
बागलुङ, ३ पुस २०७९ ।
बागलुङको जैमिनीमा सार्वजनिक वित्त व्यवस्थापन तथा बेरुजु फर्छ्याैट सम्बन्धी क्षमता अभिवृद्धि तालिम आइतबारबाट सुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा नगरपालिकाका सबै वडाका सचिव तथा वडाका सहयोगी कर्मचारीका लागि तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले आफ्नो कार्यकालमा जैमिनी नगरपालिकामा बेरुजू शुन्य बनाउने अभ्यासको थालनी गर्ने र त्यसका लागि प्रयत्न गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले बेरुजू आउने मुख्य कारण कागजात पुरा नभएर हुने हुँदा कागजात पुरा नभएका सेवाग्राहीलाई नगरपालिका नपठाउन वडा सचिवहरुलाई आग्रह गर्नुभयो । विकास गर्ने प्रमुख श्रोत पुँजी भएकाले पुँजी आर्जन र त्यसको सही व्यवस्थापन हुनुपर्नेमा उहाँको जोड थियो ।
नगर उप–प्रमुख हरिहर शर्माले नगरपालिकाले करको दायरा बढाउदै जाने, फरक फरक ठाउँमा कर तिर्ने पद्धतीको अन्त्य गरी एक ठाउँमा तिरे पुग्ने वातावरण बनाउने बताउनुभयो । साथै उहाँले प्रविधिको उच्चतम प्रयोग गरेर सेवा प्रवाहलाई छिटो छरितो संचालन गरी आफूहरु नागरिकको मालिक नभई सेवक हो भन्ने भावले काम गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले राजश्व संकलनमा वडा तथा नगरपालिका गम्भिरताका साथ लाग्न निर्देशन दिनुभयो । कर्मचारीले आफूहरु जागिर खानका लागि मात्र नभई एक जिम्मेवार व्यक्ति रहेको भन्ने सम्झिएर राजश्व छली, चुहावट रोक्दै सबै नागरिकलाई करको दायरामा ल्याउन पहल गर्न उहाँले सुझाव दिनुभयो ।

क्षमता अभिबृद्धि तालिमको सहजिकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सफ्टवेयर डेभलपर विनोद गदालीले गर्नुभएको थियो । उक्त तालिम सोमबारसम्म चल्ने जैमिनी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्