कुश्मिसेरामा जैमिनी मेलाको तयारी तिब्र, सुनारको परिवारबाट एक लाख बढि सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १२ पुस २०७९ ।

कुश्मिसेरामा जैमिनी मेला २०७९ को तयारी तिब्र पारिएको छ । माघेसक्रान्तिको अवसरमा बागलुङको दक्षिणीभेग जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा हुने जैमिनी मेलाको तयारी तिब्र पारिएको हो ।

परम्परा देखि नै चलि आएको मेलालाई “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित बृहत रुपमा सम्पन्न गरिने सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । परापूर्व कालदेखि नै जैमिनी घाटमा मेला हुँदै आएकोमा केहि समयदेखि क्लवको आयोजनामा कुश्मिसेरामा मेला हुँदै आएको छ । मेलामा विविध खेलकुद, साँस्कृतिक कार्यक्रमका साथै झाँकी प्रदर्शनी समेत रहने क्लवले जनाएको छ । जैमिनी मेलाको कुश्मिसेरामा अवस्थित शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको छ ।

पुस २९ गते देखि माघ ५ गतेसम्म सहारा खेल मैदान दुर्लेवेसीमा आयोजना हुने मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । अहिले मेला आयोजना स्थलमा स्थलगत कामहरु भैरहेको आयोजकले जनाएको छ । ठेउलेखोलामा कल्भड हाल्नुका साथै खेल मैदानको मर्मत चलिरहेको छ । बिभिन्न निकायहरुमा पत्राचार गर्ने र सहयोगको लागि आग्रह गर्नेकाम समेत चलिरहेको छ । मेला सफल पार्न बिभिन्न ठाउँबाट सहयोग पनि उठिरहेको अध्यक्ष सुनारले बताउनुभयो ।

जैमिनी मेलाको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, ४० हजार रुपैयाँ राशीको खुल्ला महिला भलिवल प्रतियोगिता, २५ हजार रुपैयाँ राशीको साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, जैमिनी डान्स आइडल, मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, जैमिनी नगर स्तरीय खुल्ला पुरूष बि लेभल डबल ब्याडमिन्टन प्रतियोगिता लगाएतका कार्यक्रम सञ्चालन हुनेछ । आयोजकले मेलामा आयोजित प्रतियोगितात्मक कार्यक्रम र पुरस्कारमा मात्रै ५ लाख ३७ हजार ३ सय ३१ रुपैयाँ खर्च हुने जानकारी दिएको छ ।

यस्तै जैमिनी मेलाको अवसरमा आयोजना हुने सर्वाधिक राशीको भलिवल प्रतियोगिताको लागि पुरस्कार सौजन्य भएको छ । सहारा क्लव कुश्मिसेराको आयोजनामा हुने १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको भलिवलका लागि कुश्मिसेराका मन कुमारी सुनार र पार्वती सुनारको परिवारबाट सौजन्य प्राप्त भएको हो ।

सहारा क्लवका संस्थापक सल्लाहकार स्वर्गीय गुरुदत्त सुनारको स्मृतिमा उहाँको परिवारले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको पुरस्कार राशी सौजन्य गरेको सहारा क्लव कुश्मिसेराले जनाएको छ । श्रीराम सुनचाँदी पसल कुश्मिसेराका संस्थापक संरक्षक स्वर्गीय गुरुदत्त सुनारको स्मृतिमा उहाँका धर्मपत्नी मन कुमारी सुनार र पार्वती सुनारले भलिवल प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य गर्नुभएको बताइएको छ ।

मेलामा करिव ३५ लाख रुपैयाँ आम्दानी खर्च हुने अनुमान गरिएको छ भने ५० वटा स्टल रहने आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि तथा पशु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा रमाइलो मेलाको व्यवस्था गरिने छ ।

गत बर्ष दोस्रो जैमिनी महोत्सव गरिएकोमा यो बर्ष मेलालाई निरन्तरता दिन लागिएको मेला आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । दुर्लेवेशी खेल मैदानमा हुने मेलामा करिव डेढ लाख दर्शक आउने अनुमान गरिएको उहाँको भनाई छ । मेलामा ख्याति प्राप्त कलाकारहरुद्वारा नियमित सांगितिक प्रस्तुति रहनेछ । मूल समारोहका दिन जैमिनी संकीर्तन समुहको आयोजनामा कुश्मिसेरा देखि जैमिनी घाटसम्म पदयात्रा हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार