सिवाइसी साकोस जैमिनीको साधारणसभा सम्पन्न, सहकारीलाई उत्पादनसँग जोड्न सुझाव

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ पुस २०७९ ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

बागलुङ क्षेत्र नं १ प्रदेश सभा ख बाट गण्डकी प्रदेश सभामा निर्वाचित सांसद डिल्लीराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीहरु अब उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले अब सहकारीले बचत र ऋणको कारोबार मात्रै गरेर नहुने भन्दै राज्यसँग मिलेर उत्पादनतिर जोड दिनुपर्ने बताउनुभयो । सहकारीहरुले सानो सानो पुँजीलाई संकलन गरेर सदस्यसम्म पुराएको भएपनि कतीपय क्षेत्रमा गरिएको लगानी अनुत्पादक क्षेत्रमा पुगेको भन्दै उहाँले लगानी गरेपछि अनुगमन र मुल्यांकन गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले सहकारीहरुसँग सहकार्य गरेर स्थानीयहरुको जिवनस्तर उकास्न नगरपालिका तयार भएको भन्दै उत्पादन र बजारीकरणमा सहकारीको साथ आवश्यक रहेको बताउनुभयो । सिवाइसी सहकारी जिल्लामा मात्रै नभएर प्रदेशमा समेत उत्कृष्ट रहेको भन्दै उहाँले सहकारीको माध्यामबाट जनताको आयस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि तथा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले सहकारीको मूल्य र मान्यता अनुरुप चलेका सहकारीहरु कहिलै नडुब्ने बताउनुभयो । यसअघि सहकारीमा काम गरेको अनुभव सुनाउँदै उहाँले सहकारीको सञ्चालन र व्यवस्थापनमा ध्यान दिने हो भने संस्थालाई जिवित राख्न सकिने धारणा राख्नुभयो । सहकारी संस्थाले सेवा गरेतापनि नाफामूखी हुनुपर्ने विचार राख्दै उहाँले सदस्यहरुले दुःख गरेर जम्मा गरेको रकमको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सहकारीको परिकल्पना गर्नुको मूख्य उद्देश्य नै हुने खानेको पैसा हुँदा खानेमा पुराउने र हुँदा खानेलाई हुने खाने बनाउने रहेको भन्दै संस्थाको सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो । सिवाइसी सहकारीलाई अब्बल बनाउन सबै शेयर सदस्यको उत्तिकै भूमिका रहेको भन्दै उहाँले सदस्यहरुको सर्वाङ्गिण विकासको लागि सहकारी सहयोगी बनेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले सिवाइसी सहकारीले नगरपालिकामा पुराएको योगदान प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि नगर तथा वडाका कार्यक्रमहरुमा साँझेदारी गरेर अगाडी बढ्ने बताउनुभयो । वडामा उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि सहकारीहरुको साथ र सहयोग आवश्यक हुने भन्दै उहाँले एक आपसमा मिलेर काम गर्दा सबैलाई समेट्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति तथा सिवाइसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सेवा केन्द्रका संयोजक कृष्ण प्रसाद रिजालले एक आपसमा हातेमालो गर्दै अगाडी बढेमा जुनसुकै काम गर्न पनि सम्भव रहेको बताउनुभयो । जैमिनी सेवा केन्द्रले सदस्यहरुको लागि थुप्रै सेवा दिइरहेको जानकारी दिँदै उहाँले निरन्तर सहकार्य र समन्वय गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव सुजन प्रेमी सुवेदीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पा शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाले सचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । १३ औं साधारणसभाको अवसरमा असल बाल बचतकर्ता, असल शेयर सदस्य, असल बचतकर्ता, असल उद्यमी र असल ऋणीहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा नयाँ शेयर सदस्यहरुलाई स्वागत समेत गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो