जैमिनीमा प्रदेश मन्त्री थापालाई सम्मान, जनप्रतिनिधिकाे १ बर्षे कार्यकालको उपलब्धी सार्वजनिक

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ८ जेठ २०८० ।

जैमिनीले गण्डकी प्रदेशका नव नियुक्त मन्त्री दिपेन्द्र बहादुर थापालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । सोमबार बागलुङको जैमिनी नगरपालिकाले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री थापालाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सम्मान पछि बोल्दै मन्त्री थापाले आफूलाई नागरिकहरुले विकासको जिम्मा दिएर पठाएकाले सकेजति विकास गर्ने बताउनुभयो । निस्वार्थ रुपमा जनताको सेवा गर्नु आफ्नो कर्तव्य सम्झेर राजनिति गरेको भन्दै उहाँले गण्डकी प्रदेशले अब साना योजना भन्दा ठुला र दिर्घकालिन योजना निर्माणमा ध्यान दिनेमा जोड दिनुभयो ।

बागलुङ नगरपालिका वडा नं ११ रायडाँडामा जन्मिनुभएका मन्त्री थापाले जैमिनीको विकासको लागि आफू सँधै तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशबाट गर्न सकिने सबैखाले कार्यमा सहकार्य गरिने बताउनुभयो ।

सम्मान कार्यक्रम संगै जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको १ बर्ष पुगेको अवसरमा प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । १ बर्षको अवधिमा गरेका उपलब्धीहरु सार्वजनिक गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले विज्ञ सम्मेलन देखि यसको कार्यन्वयन सम्म जैमिनीको उपलब्धी भएको बताउनुभएको छ । नगरपालिकाले स्थानीय उत्पादनलाई प्रशोधन र बजारिकरण गर्न थालेको भन्दै उहाँले पालिकाबाट हुने सबै भुक्तानीहरु अनलाइनबाट गर्न थालिएको जानकारी दिनुभयो ।

टोलटोलमा नै सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि जैमिनीको उपलब्धी भएको भन्दै उप प्रमुख शर्माले शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएतका कार्यहरुमा पनि नगरपालिकाले पृथक काम थालेको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले मन्त्री थापालाई मायाको चिनो र जैमिनीमा उत्पादन भएको सिस्नोको धुलो र बाँकोको गुन्द्रुक दिँदै नगरको विकासमा सक्दो पहल कदमी गर्न आग्रह गर्नुभयो । नगरपालिकाले लिएको दिगो विकासको लक्ष प्राप्तिको लागि प्रदेशको पनि महत्वपूर्ण भूमिका हुने भएकाले गण्डकी प्रदेशको तर्फबाट पर्यटकीय क्षेत्रमा सहयोगको आशा गरेको उहाँको भनाई छ ।

प्रमुख पुनले मन्त्री थापालाई नगरका विभिन्न आवश्यकता र योजना समेटिएको प्रतिवेदन दिनुभएको थियो ।

यस्तै सोमबार नै जैमिनीमा रोजगार सम्वाद मञ्च सम्पन्न भएको छ । स्थानीय तहमा रोजगारको अवस्था र आगामी कार्ययोजना सन्दर्भमा रोजगार सम्वाद मञ्च सम्पन्न भएको हो । कार्यक्रममा रोजगार संयोजक सुरेश पुनले जैमिनीमा रोजगारको स्थिति र यसमा संलग्न हुने विधि प्रकृयाबारे जानकारी गराउनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो