जैमिनीमा बालिका तथा समावेशी शिक्षा सञ्जालको तदर्थ समिति गठन, यस्तो छ सञ्जालकाे काम

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ४ जेठ २०८० ।

जैमिनीमा बालिका तथा समावेशी शिक्षा सञ्जालको तदर्थ समिति गठन गरिएको छ । बुधबार बागलुङको जैमिनी नगरपालिकामा नगर स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको तदर्थ समिति गठन गरिएको हो ।

जैमिनी नगरपालिकाको आयोजना र बिवाईसी बागलुङ, भिएसओ नेपाल र हेम्पेल फाउण्डेशनको प्राविधिक सहयोगमा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा बसेको भेलाले नगर प्रमुख नर बहादुर पुनको संयोजकत्वमा बालिका तथा समावेशी शिक्षा सञ्जालको तदर्थ समिति गठन गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

समितिको सदस्यहरुमा जैमिनी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक विष्णु प्रसाद आचार्य, सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको तर्फबाट जनता माध्यामिक विद्यालय जैमिनी ९ पैयुँ पोखरीबारीकी प्रधानाध्यापक नुम कुमारी देवी शर्मा, संस्थागत विद्यालयको संस्थापकको तर्फबाट हिमालयन आवाशीय मा.वि का सञ्चालक चित्र प्रसाद चापागाईँ, महिलाको क्षेत्रमा काम गर्ने संस्थाको तर्फबाट सिर्जनशिल महिला समुहकी लक्ष्मी शर्मा, लैंगिक सम्पर्क व्यक्तिको तर्फबाट जनता मा.वि जैमिनी ४ सर्कुवाकी शिक्षीका कमला देवी चालिसे, मुस्लीम समुदायको तर्फबाट ममता शर्मा खातुन, दलित समुदायको तर्फबाट रीता परियार, स्वास्थ्य शाखाको तर्फबाट स्टाफ नर्स सुनिता चालिसे, लैंगिक क्षेत्रमा काम गर्ने संस्थाको तर्फबाट स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङका रमेश पौडेल रहनुभएको छ । सञ्जालको सदस्य सचिवमा जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकी शिक्षा अधिकृत मिरा देवी शर्मा रहनुभएको छ ।

कार्यक्रममा भिएसओ नेपालका कार्यक्रम अधिकृत शक बहादुर बुढाथोकीले सञ्जालको बारेमा जानकारी गराउँदै यसको गठन प्रकृयाको बारेमा प्रष्ट पार्नुभएको थियो । विशेष गरी बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउने र अपांगता र सिमान्तकृतहरुको शिक्षामा टेवा पुराउने उद्देश्य अनुसार यो सञ्जाल गठन हुने उहाँको भनाई छ ।

बालिका तथा समावेशी शिक्षा सञ्जाल केन्द्र, प्रदेश र स्थानीय तहमा नै गठन गर्नुपर्ने प्रावधान रहेकाले अब जैमिनी नगरपालिकाले पनि आवश्यक कार्यविधि बनाएर काम अगाडी बढाउने जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । यसको लागि शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको उहाँको भनाई छ । कार्यदलले १५ दिन भित्र कार्यविधिको मस्यौदा तयार गरी नगरपालिकालाई बुझाउने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो