बागलुङ, ११ असोज २०८० ।
जैमिनीमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । बुधबारबाट बागलुङको जैमिनी नगरपालिकामा हाजिर हुन आउनुभएका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेललाई नगर प्रमुख, उप प्रमुख र कर्मचारीहरुले स्वागत गरेका हुन् ।
यस अघि बैतडीको दशरथचन्द नगरपालिकामा रहनुभएका भुजेल बुधबारबाट जैमिनीमा हाजिर हुनुभएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको सरुवा भएसँगै भुजेल आउनुभएको हो ।
कार्यकारी अधिकृत भुजेललाई स्वागत गर्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले कसैको दवाब र प्रभावमा परेर काम नगर्न सुझाव दिनुभयो । यस्तै उप प्रमुख हरिहर शर्माले स्वागत गर्दै जनप्रतिनिधि र कर्मचारीले योजनाबद्ध तरिकाले काम गर्न सके जैमिनी नगरपालिका समृद्ध बनाउन सकिने बताउनुभयो ।
कर्मचारीहरुको तर्फबाट स्वागत गर्दै जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यले कर्मचारीहरुले नीति र नियममा रहि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकामा कार्यरत कर्मचारीहरुविच आपसी सद्भाव कायम गरी समन्वय गर्दा कार्यसम्पादन राम्रो हुने उहाँको भनाई छ ।
स्वागत पछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत भुजेलले नीति र नियममा रहि समन्वय गरेर काम गर्ने बताउनुभएको छ । जनप्रतिनिधिले लिएको लक्ष्यलाई नीति र नियम र श्रोतले भ्यासम्म पुरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहाेस्