पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, ६ असार २०८१ ।

आगामी साउन महिनाभर पशुपति परिसरमा आयोजना हुने ऐतिहासिक कोटिहोमको तयारी तिब्र पारिएको छ । मानव सेवा फाउण्डेशनले आयोजना गर्न लागेको कोटिहोमको तयारी तिब्र पारिएको हो ।

विभिन्न उपसमिति निमार्ण गरि कार्य भैरहेको आयोजक मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णुराज गिरीले जानकारी दिनुभयो । कैलाश पर्वत क्षेत्रमा गरिनुपर्ने कार्यहरु ७५ प्रतिशत र हवन कुण्ड निर्माण कार्य ४० प्रतिशत सकिएको उहाँको भनाई छ ।

हाल अधिकांश ठाउँमा पण्डाल लगाउन बाँकी राखेर अन्य तयारी सकिएको छ । छिटो पण्डाल लगाउँदा बाँदरले च्यात्न सक्ने जोखिमलाई मध्येनजर गरेर असार २०/२० गतेबाट पण्डाल लगाउन सुरु गरिने गिरीले बताउनुभयो । पशुपति क्षेत्र विकास कोषसंग पूर्ण सहकार्य गरेर आयोजना गरिएको कोटिहोममा विभिन्न संस्कृतिक कार्यक्रपम तथा झाँकीहरु समेत प्रदर्शन हुनेछन् । क्षेत्र विकास कोषका भवन तथा संरचना प्रयोग गरेबापत आयोजकले कोषलाई भाडा तिर्ने सहमती भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्रको हंसमण्डपमा सञ्चालन हुने छ ।

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने आयोजकले जनाएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने छन् ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको व्यवस्थापक गिरीले बताउनुभयो । मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ८३ जना अभिभावक विहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमावुवाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

साउन महिनामा पशुपति मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने र सोहि समयमा युगमा एकपटक हुने बृहत कोटीहोमको आयोजना गरिएको आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न तवरबाट निमन्त्रणा समेत भैरहेको छ । मानव सेवा फाउण्डेशन सहित विजय कृष्णमूर्ति जी महाराज फाउण्डेशन, मामाघर अनाथालय सर्पोट एण्ड केयर सेन्टर, छोरीको घर ज्येष्ठ नागरिक आश्रम, हिन्दु सेना नेपाल, डोनेट फर नेपाल, मामाघर परोपकार तथा सेवा आश्रम, माइतीघर ज्येष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र, पञ्चकन्या धाम एवं गाइघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, स्वधर्म परिवार नेपाल लगाएतका संस्था महायज्ञको आयोजक रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार