‘हाँडीकोट्को काखमा लुट्पुटिएको रुम्टा बजार’

याे सामग्री सेअर गर्नुहाेस्

दिल प्रसाद पौडेल
जैमिनी १० राङ्खानी
बागलुङ ।

मैले कल्पना गरेको भन्दा धेरै फरक रहेछ । वास्तविकता भन्दा पनि अलि पर, काल्पनिक संसारमा चुर्लुम्म डुबेर सोचँें वरिपरि डांँडैडाँंडाले गजधुम्म परेर जिस्काईरहेको छ । हाँडीकोट र तिनचोके अनि नाम्दुक र नायखुमका डाँडाहरुले चिहाईरहेको छ । बिहारथलाको टुप्पोबाट देखिने दर्जनौ मन्दिरका थुम्काहरुले लालायित बनेर तिनै डांँडाहरुसंग प्रेम प्रस्तावको बेला लजाए झँै एकतमासले हेरिरहेका छन् । माथी डाँडामा पुग्दा लाग्छ नागार्जुन र मनकामनाको केबुलकारबाट शयर गरेर आकाशको माथी माथी बादलभित्र हराए जस्तै आभाष हुँदो रहेछ । नैरश्यताको भावावेशमा खिन्नताका ठुटाहरु तेर्सिएर जिवनको बाटोमा तगारो बनिरहे पनी एकैछिन बिर्साईदिने वातावरण, वाह हाम्रो वाह, हाम्रो रुम्टा बजार विभिन्न रंग भरिएका घरहरुमा फूलका बुटाहरु अनि उत्तिकै लाम लागेर जन्ती र मलामी जस्तै गाडीका लाईनहरु, मान्छेको पातलो वस्ती भएपनी खोलाको चिसो सिरेठोले मनै सिरिङ्ग बनाईदिन्छ ।

बागलुङ् जिल्लाको दक्षिण भेगमा अवस्थित जैमिनी नगरपालिका वडा नम्बर १० र ९ मा पर्ने रुम्टा बजार साँच्चै बयान गरेर नथाकिने छ । ठेउले खोला, देउराली खोला र चिन्नी खोलाको त्रिवेणी, जैमिनिका तिनवटा वडा राङ्खानी, पैंयुथन्थाप र सर्कुवाको केन्द्रबिन्दु ठेउले खोलाको बिचभागमा पैयु थन्थाप र राङ्खानी जोड्ने झोलुङ्गे पुल अनि खोला वारी र पारी झुलीरहेका जेठोबुढो धानका बालाहरु, आहा कति रमणीय छ ।

रुम्टाको पारीपट्टी भर्खर सुरु भएको नयाँवस्ती, यतापट्टी मजुवा, ज्यामिरे, बरशिर र तिर्खे डांडाहरु लुकामारी खेलीरहएको देख्दा कस्को मन लोभिन्न होला र ? दुई वटा उर्जाखोला लघुजल विद्युत परियोजनाका दुईवटा पावर हाउस बाट निस्कने ४० किलोवाट बिजुलीले रातीमा झलमल्ल देखिन्छ रुम्टा बजार । ठेउले खोलाका असला माछा अनि चिन्नी खोलाका गंगटा र देउराली खोलाका ऐसेलुले बेग्लै स्वादको मज्जा दिने गर्छन । चिसापानीको चिसो पानी लालमाले खोलाको घँगेरुले अर्को मज्जा थपिदिन्छ ।

विभिन्न मोडेलमा बनाईएका घरहरु रंगरोगन पछि बिहेमा सिङ्गारिएकी बेहुली जस्तै बनेको छ, मिनि उपत्यका रुम्टा बजार । रुम्टा देखि हाँडीकोटसम्म केबुलकार सञ्चालन गर्ने पुवाधार को जोखाना हेरिरहेका यहाँका बासिन्दाहरुले मोटर बाटो भने अब निकट भविस्य मै पिच भएको देख्न पाउनेछन । ब्राह्मण, जनजाती, र दलित बस्ती रहेको रुम्टा बजारबाट हात्ती ढुङ्गा करीब ६ सय मिटरको दुरीमा छ भने माईको स्थान भगवतीको मन्दिर करीब दुई किलोमीटरको दुरीमा अवस्थित छ । त्यसैगरी करीब पच्चीस सय मिटर को दुरीमा प्रसिद्ध पर्यटकीय ठाउँ हाँडिकोटको टापु मा पुग्न सकिन्छ ।

नागवेली बगिरहेको ठेउले खोला अनि चटक्क मिलेको पाहीको गाउँ, लाम्सु, देवलधारा, राङ्खानीको बस्ती बस्तीबाट अनगिन्ती झल्को मेटाउने सुन्दर बजारमध्ये यो पनि एक हो । वरिपरी धान झुलेका रमणीय फाँट अनि एकछाने, जिमिरे र जुरेढुङ्गाको वनले थप मनमोहक देखिन्छ । यता उता प्रसस्त पाइने लप्सी अनि यहि सिजनमा कटुस र गोलकाँक्रीको अचार, आहा !

जेहोस् जति वर्णन गरेपनि अपुग यो क्षेत्रको वृद्धि विकासको लागि सम्बन्धित निकायले गम्भीर चासो राख्ने हो भने साँच्चिकै पर्यटकीय ठाउँको रुपमा परिचित र परिणत गर्न सकिने यहाँका स्थानीयहरुको भनाई छ । एकपटक घुम्न आआँै र अध्ययन अनि कल्पना गरौ, रुम्टा बजारको भविष्य । जदौ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार