जब राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङमा जेल बस्दाका मित्रहरू सम्झिए..

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १२ पुस २०८० ।

बुधबार ७ औँ बागलुङ महोत्सव उद्घाटन गर्न बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले जेल बस्दाका पुराना हितैषीलाई सम्झनुभएको छ । २०४६ सालमा धौलागिरिमा आन्दोलन उठाउन आउनुभएका पौडेलले त्यतिबेला जेल पर्दाका सहयोगीहरुलाई सम्झना गर्नुभएको हो ।

बागलुङ देखि पर्वतसम्मका मित्र र सहयोगीहरुको स्मरण गर्दै उहाँले राजनीतिक चेतनाको उर्वरभूमि बागलुङ भएको समेत उल्लेख गर्नुभयो । सम्बोधनकाे सुरुमै बागलुङको कारागारमा बस्दाका घटना सम्झँदै राष्ट्रपति पौडेलले २०४६ सालको संघर्षले नै २०७२ सालको संविधान निर्माणसम्ममा सफलता मिलेको उल्लेख गर्नुभयो ।

सम्बोधनको सुरु गर्दै उहाँले भन्नुभयो “यस घडिमा म त्यो बेला मसँगै बाग्लुङ कारागारमा चार महिना बढी जेल जीवन बिताउने साथी गोविन्द कँडेल, तनहुँका लक्ष्मी आचार्य र यहिँका नेता जगदिश उपाध्याय, रघुपति तथा ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र इश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटा लगायत बाह्रपन्ध्रजना भाइहरू, जेलमा दूध, तरकारी पुर्‍याइदिने सापकोटा बाजे र बाग्लुङ बजार बिँहु-लेखानी, पैयूँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मुडिकुवा अनि पाङ, ग्यादी र कुश्माका साथीहरूलाई स्मरण गर्न चाहन्छु ।”

जेलमा रहँदा दुध र तरकारी लगाएतका वस्तु ल्याइदिनेहरुलाई समेत विर्सन नसक्नुभएका राष्ट्रपति पौडेलले बागलुङ जिल्ला धेरै सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्नुभयो । हिमश्रृङ्खला देखि विकास निर्माणसम्मका कुराहरु समेट्नुभएका पौडेलले राजनीतिक भाषणलाई पर सारेर आर्थिक, भौतिक लगाएतका विषयलाई प्राथमिकता दिनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार