जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु, विभिन्न प्रतियोगिता सञ्चालन

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २७ माघ २०७९ ।

बागलुङको जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार देखि जैमिनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको हो ।

जैमिनी नगरपालिकाको आयोजना र सहारा क्लव कुश्मिसेराको व्यवस्थापनमा भएको कार्यक्रमको उद्घाटन सत्रमा मार्चपास सहित तेक्वान्दो प्रदर्शनी, पिटी प्रदर्शनी र हिमालयन बोर्डिङ स्कुलका विद्यार्थीको नृत्य प्रस्तुति रहेको थियो । उद्घाटनको दिन बिहिबार दुईसय मिटर र ८ सय मिटर दौड प्रतियोगिता र छात्रा भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । छात्र ८ सय मिटर दौडमा सन्तोष नेपालीले पहिलो स्वर्ण सहित खाता खोलेका छन ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले खेल क्षेत्रको विकासका लागि विद्यालय स्तर देखि नै विद्यार्थीहरुलाई यस प्रति आकर्षित गराउनुपर्ने बताउनुभयो । स्वास्थ्य र अनुशासनका लागि खेलकुदलाई महत्वपूर्ण पाटोको रुपमा लिइने बताउँदै उहाँले जैमिनी नगरपालिकाले पनि खेल क्षेत्रमा राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा नाम कमाउनु पर्नेमा जोड दिनुभयो ।

उद्घाटन शत्रमा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले युवाहरुको आकर्षकको केन्द्रविन्दु रहेको खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । खेल क्षेत्र विश्वमा चिनिने क्षेत्र भएकाले यसलाई कसरी थप व्यवस्थित र खेलाडीमैत्री बनाउन सकिन्छ भनेर आफूहरु लागिपरेको भन्दै उहाँले विद्यालयमा पढ्ने र पढाउने मात्रै नभई हरेक क्रियाकलापमा विद्यार्थी सहभागी बन्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले खेल क्षेत्र स्वास्थ्य र अनुशासनको महत्वपूर्ण क्षेत्र भएकाले यसलाई प्रवद्र्धन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । जैमिनी नगरपालिकाबाट हुने यस्ताखाले कार्यक्रमले विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापमा सारिक हुने अवसर समेत प्राप्त हुने भएकाले यसको लागि विद्यालयले पनि बढी चासो राख्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै बिहिबार छात्र, छात्रा २ सय मिटर दौड, छात्र, छात्रा ८ सय मिटर दौड, छात्रा भलिबल प्रतियोगिता सञ्चालन भएका थिए । छात्र २ सय मिटर दौडमा शान्ति मा.वि कुश्मिसेराका विद्यार्थी प्रयास गुरुङले स्वर्ण, संस्कृत मा.वि बेलबगरका समिर पौडेलले रजत र विजुवा मा.वि का पुजन थापाले कास्य जितेका छन । ८ सय मिटर दौडमा जनशिक्षित मा.वि का विद्यार्थी सन्तोष नेपालीले स्वर्ण, सर्बोदय जनक मा. वि बिनामारेका समिर नेपालीले रजत र जनता मा. वि पैयुका प्रेम नेपालीले कास्य जितेका छन ।

छात्रातर्फ २ सय मिटर दौडमा सर्बोदय जनक मा. वि बिनामारेका स्मृती हमालले स्वर्ण, जनता मा.वि पैयुकी सपना नेपालीले रजत र संस्कृत मा.वि बेलबगरकी रेखा क्षेत्रीले कास्य जितेकी छन । त्यस्तै ८ सय मिटर दौडमा जनकल्याण मा.वि अर्जेवाकी कविता खत्रीले स्वर्ण, शान्ति मा.वि कुश्मिसेराकी जेनिशा शर्माले रजत र जनता मा. वि पैयुकी रितु नेपालीले कास्य जितेकी छन् । बिहिबार नै छात्रा भलिवल खेलको सेमिफाइनल खेल पनि भएको छ । जसमा राङ्खानी मावि डाँडाखानी तेस्रो भएको छ । आज हुने फाइनल खेल जनशिक्षित मा. वि अर्जेवा र सतिढुङ्गा मा. वि जैदीबीच हुने सहारा क्लब कुश्मिसेराले जनाएको छ ।

त्यस्तै बिहिबार नै शैक्षिक कार्यक्रम पनि भएका थिए । प्रा.वि स्तरीय पढाई मेलामा जैमिनी २ दमेकको सरस्वती प्रा.वि की विन्ती जिसी प्रथम, जनकल्याण मा.वि अर्जेवाकी सुरक्षा पौडेल द्वित्तीय, ज्ञानज्योति प्रा.वि दमेककी करिष्मा सापकोटा तृतीय र हिमालयन आवाशीय मा.वि का कृष पौडेल र कुश्मी प्रा.वि की करिश्मा नेपाली सान्तवना भएका छन् । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जैमिनीका ८० विद्यालयमध्ये ५४ विद्यालयको सहभागिता रहेको छ । त्यस्तै विद्यालय स्तरीय शैक्षिक प्रर्दशनी कार्यक्रममा जनचेतना प्रा.वि प्रथम, राङखानी मा.वि डाँडाखानी द्वित्तीय र जनता मा.वि पँैयु तृतीय भएका छन् ।

तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ । माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जैमिनी नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विधाहरु समावेश गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो