कुश्मिसेरा उपल्लो बजारको बाटो यो बर्खा पनि हिलाम्य, असोजसम्म कालोपत्रे गरिने

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ३ साउन २०७८ ।

बागलुङकाे कुश्मिसेरा बजारको पिच सडकको काम समयमा नसकिँदा समस्या भएको छ । जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा बर्खा नलाग्दै गर्नुपर्ने काम ढिलाई हुँदा ओहोरदोहोरमा समस्या परेको हो ।

असार मसान्तसम्म काम सक्नेगरी बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का लिएको कुश्मिसेरा उपल्लोबजारको सडक कालोपत्रे नहुँदा झन् हिलाम्य बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बजार वारपार गर्नै नसकिने गरी हिलाम्य सडकका कारण यो बर्खा पनि उपल्लो बजारवासी समस्यामा परेको उनिहरुको गुनासो छ ।

ठेकेदार कम्पनीले समयमा काम नसकेकाले सर्त सहित तीन महिना म्याद थप्ने तयारी भैरहेको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेपनि समयमा काम सम्पन्न नहुँदा म्याद थप्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

“५० प्रतिशत काम सम्पन्न भैसकेको छ, ठेकेदारले निरन्तर काम गरे धेरै समय लाग्दैन” उहाँले जिल्लाखबर डटकमसँग भन्नुभयो “ठेकेदार कम्पनीले पुरा भुक्तानी पाएको छैन, असोज मसान्तसम्म काम सक्नेगरी ठेकेदारसँग म्याद थप गर्नेछौँ”

२७ लाख भुक्तानी लगेको ठेकेदार कम्पनीले असोजससम्मा काम सम्पन्न गर्नेगरी म्याद थप गर्न आग्रह गरेको छ । कोरोना महामारी र बजारमा केहि समस्याका कारण कार्य सम्पन्न गर्न ठिलाई भएको भन्दै कम्पनीले तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको ईन्जिनियर सापकोटाले बताउनुभयो ।

अहिले बजार क्षेत्रमा पानी पर्दा हिलाम्य हुने गरेका कारण व्यवसायमा समेत प्रभाव परेको व्यापारीहरुको गुनासो छ । ठेकेदार कम्पनीले नालीको काम सम्पन्न गरिसकेको छ भने हिलो पन्छाएर माटो बिछ्याएको छ तर उक्त माटो पनि कतिपय ठाउँमा पानी परेपछि हिलाम्य हुँदा समस्या भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो