जैमिनीमा कोरोनाको स्थिति भयावह: ४ बर्षे बालिका सहित २७ जनामा संक्रमण, सतर्क रहन आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

 

सन्ध्या आचार्य 
बागलुङ, २० साउन २०७८ ।

जैमिनीमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समयमा ३७ जनाको पीसिआर परिक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

पछिल्लो समयमा थपिएकाहरु सबै जैमिनी नगरपालिका १ कुश्मिसेरामा बसोबार गर्नेहरु रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिएकाहरु धेरैजसो अन्यत्रबाट आएर कुश्मिसेरामा कार्यरत कर्मचारी रहेको र उनिहरुको ठेगाना जैमिनी १ नै उल्लेख भएको भएको उहाँको भनाई छ ।
यो संगै जैमिनी नगरपालिकामा अहिले ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ती मध्ये ६ जना संस्थागत आइशोलेसन र बाँकी होम आइशोलेसनमा रहेका छन् ।

सक्रिय संक्रमितहरुमध्ये जैमिनी नगरपालिका ५ विनामारेमा २ जना, जैमिनी २ दमेकमा ३ जना र जैमिनी १० राङ्खानीमा २ जना रहेका छन् । बाँकी सबै जैमिनी १ का रहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो ।

जैमिनी कोभिड १९ अस्थाई अस्पताल कुश्मिसेराको आइशोलेसनमा बसेका ६ जनामध्ये २ जना बालबालिका रहेका छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ ।

यस्तै कुश्मिसेराको बैंकमा कार्यरत एकजना कर्मचारीमा कोरोनाको संक्रमण दोहोरिएको छ । गतबर्षको मंसिरमा कोरोना देखिएका एकजना पुरुषमा पुनः कोरोना देखिएको हो । उनले कोरोना विरुद्वको दुवै डोज खोप लगाइसकेका थिए ।

जैमिनीमा कोरोनाको संक्रमण दर बढ्दै गएकाले यसबाट सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । स्वास्थ्यमा समस्या देखिएमा कोभिड अस्पतालमा आउन र स्वास्थ्यकर्मीहरुको सहायता लिन अनुरोध गर्दै स्वास्थ्य शाखा संयोजक आचार्यले होम आइशोलेसनमा बसेकाहरु हिँडडुल नगर्न र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि जथाभावी नहिँड्न र परिक्षण गराउन आग्रह गर्नुभयो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा कोरोना संक्रमण दर बढ्दै गएको छ । नगरपालिकामा अहिले ४ बर्षीय बालिकामा समेत संक्रमण देखिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो