जैमिनीको प्रगति समिक्षा कार्यक्रम सम्पन्न, ९६ प्रतिशत भौतिक र ९१ प्रतिशत आर्थिक प्रगति

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २८ भदौ २०७८ ।

जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ को बार्षिक प्रगति समिक्षा कार्यक्रम गरेको छ । सोमबार जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरामा नगरपालिकाका सम्पूर्ण गतिविधिहरुको बार्षिक प्रगति समिक्षा गरिएको हो ।

११ वटा विषयगत शाखाका अधिकृत तथा संयोजकहरुले पेश गरेको प्रतिवेदन अनुसार जैमिनीमा भएका काम कारवाहीहरु सन्तोषजनक देखिएको छ । शिक्षा, स्वास्थ्य, आर्युवेद, कृषि, पशु, पञ्जिकरण, विपद् तथा सामाजिक विकास, योजना, प्रशासन तथा लेखा, प्रधानमन्त्री रोजगार लगाएतको प्रतिवेदन प्रस्तुत भएकोमा सहभागिहरुले योजना कार्यन्वयन र अनुगमनमा प्रभावकारिता नभएको सुझाव दिएका थिए ।

जैमिनी नगरपालिकाको शिक्षा शाखाले ७१ दशमलव १४ प्रतिशत प्रगति गरेको देखिएको छ जसमा दिवा खाजा कार्यक्रम तथा शैक्षिक सामग्रीको व्यवस्था हुनुले अपेक्षित उपलब्धि पाइएको छ । संघ र प्रदेशको कानुनका कारण कतिपय कामहरु अश्पष्टता हुँदा प्रभावकारी कार्य प्रगति गर्न नसकिएको जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रसाद आचार्यले बताउनुभयो ।

नगरपालिकाका ४ सय ६० वटा योजनामध्ये ३ सय ५३ वटा योजना तथा कार्यक्रमको शत प्रतिशत काम भएको छ भने ३३ वटा योजना तथा कार्यक्रम कार्यन्वयन हुन नसकेको पाइएको छ । जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ मा ९६ प्रतिशत भौतिक प्रगति र ९१ प्रतिशत वित्तिय प्रगति गरेको योजना अधिकृत पे्रम प्रसाद सापकोटाले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा सञ्चित कोषको आम्दानी र खर्चको आधारमा चालु तथा पुजिगत खर्च मध्ये कुल ८३ प्रतिशत खर्च भएको छ ।

नगरपालिकामा बर्खाका कारण बिशेषगरी बाटोघाटोमा बढि क्षति हुने गरेको ईन्जिजियर विवेक सापकोटाले बताउनुभयो । नगरपालिकाका अधिकांश ठाउँमा कच्चि बाटो भएको र बर्षातमा बाढी पहिरो आउँदा प्राविधिकहरुको कार्यभार बढेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा २३ किलोमिटर नयाँ सडक निर्माण भएको छ । ९ सय ४७ मिटर पक्की नालि निर्माण भएको र १ हजार २०० मिटर कालोपत्रे गरिएको सापकोटाले बताउनुभयो ।

नगरपालिकाले गर्ने खर्च देखिने गरी बाटोमा लगानी गरिएको भएपनि अपेक्षित उपलब्धी कम भएको देखिएको छ । यसको मुख्य कारण बर्षातको भेलबाढी सहित संरक्षणको अभाव पनि रहेको छ ।

साना र फुटकर योजनाले कार्यभार र व्ययभार बढेको तर उपलब्धी कम देखिने गरेको लेखा अधिकृत सुर्य बहादुर विकको भनाई रहेको छ । कार्यक्रममा आम्दानी तथा खर्चको विवरण, शिर्षक, श्रोत तथा कार्यन्वयनको बारेमा जानकारी दिदै उहाँले नीति र विधिलाई अक्षरत कार्यन्वयन गर्न चुनौती भएको बताउनुभयो ।

नगरपालिकाले कृषि तथा पशु कार्यक्रममा पनि उपलब्धि हासिल गरेको छ । तर यो अझै अपेक्षाकृत नभएको र कृषि तथा पशु पालनमा नागरिकहरुको आकर्षण बढाउनुपर्ने पशु शाखा अधिकृत कृष्ण प्रसाद ढकालले धारणा राख्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक बर्ष २०७७र७८ मा जैमिनी नगरपालिका भरीका २ हजार ५ सय ५० जना सुचिकृत मध्ये ३ सय ९६ जनालाई रोजगार दिएको छ । रोजगार पाएका ३ सय ९६ जनाले २४ वटा योजनामा २४ हजार ३ सय १४ दिन बराबरको काम गरेका छन् । जस बापत १ करोड २५ लाख ७० हजार ३ सय ३८ रूपैयाँ भुक्तानी भएको रोजगार संयोजक सुरेश पुनले बताउनुभयो ।

न्युनतम रोजगारीको राज्यले ग्यारेन्टी गरेपनि कार्यक्रम कार्यन्वयनमा भने चुनौति देखिएको छ । जैमिनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको कुल बजेटको आधा भन्दा बढि रकम फिर्ता गएको छ । विधि र पद्धति अनुसार काम गर्न चुनौति देखिएको यस कार्यक्रमको प्रमुख समस्या पारिश्रमिक कम हुनु र श्रमिकहरुको वर्गिकरण नहुनु रहेको रोजगार संयोजक पुनको भनाई छ ।

नगरपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रममा उठेका जिज्ञासा सहितलाई सम्बोधन गर्दै नगर प्रमुख ईन्द्रराज पौडेलले जैमिनीलाई समृद्ध बनाउन आफु बाट नै सुरुवात गर्नुपर्ने बताउनुभयो । आफ्नो दायित्व सम्झेर सबैले काम गरे नगरपालिकाको काम प्रभावकारी हुने भन्दै उहाँले सबैले मिलेर काम गर्न अनुरोध गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो