जैमिनीमा किन आएनन् डाक्टर ? यस्ताे छ कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको रामकहानी

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २३ पुस २०७८ ।

बागलुङको जैमिनी विगत ६ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको ६ महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।

स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि डाक्टर नपठाएको जैमिनी नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना डाक्टरको दरबन्दी भएपनि डाक्टर अध्ययन विदामा गएकाले करारमा डाक्टरको नियुक्ती गरिएको थियो । करारमा नियक्ती भएका डाक्टरको पनि असार मसान्तमा करार अवधी सकिएपछि अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा बिभागमा डाक्टर पठाउन पटक पटक पत्राचार गरेपनि अझैसम्म नआएको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । यसअघि करारमा आउनुभएका डाक्टर राजु भट्टराई क्षेत्रीको गत बैशाख १४ गते करार अवधि सकिएको थियो । तर कोरोना संक्रमणको अवस्था र तत्कालको समस्या समाधानको लागि उहाँलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो । असार मसान्त पछि उहाँको अवधी सकिएर विदाई भएपछि अझैसम्म अर्को डाक्टर आएका छैनन् ।

“डाक्टर नआउनुमा अरु कुनै कारण त छैन, हामीले यहाँ त्यस्तो असहयोग गरेको भन्ने सन्देश त छैन”, मेयर पौडेलले भन्नुभयो, “आफ्नो ड्युटी बाहेक अनयत्र नीजि क्षेत्रमा पनि काम गर्न पाउने ठाउँ डाक्टरहरुको रोजाईमा पर्ने रहेछ, कुश्मिसेरा सानो बजार भएकाले त्यो सम्भव नदेखेर डाक्टर नआएको हुनसक्छ ।”

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थाई डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आउनुभएको थियो । अहिले पनि मन्त्रालयमा निरन्तर कुराकानी भैरहेको र बिभागबाट छिटै सरकारी कोटामा अध्ययन गरेका मेडिकल अधिकृत भएपनि पठाउनेमा आफुहरु विश्वस्त रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।

मन्त्रालय र बिभागमा पहलकदमी भैरहेपनि डाक्टर अभावका कारण समस्या भएको छ । प्रायः प्राइभेट पढेका डाक्टरहरुले सुगम ठाउँ नै खोज्ने भएकाले सरकारी छात्रबृत्तिमा पढेकाहरुले दुर्गममा सेवा गर्नैपर्ने प्रावधान अनुसार त्यस्ता डाक्टरहरु आउने भएपनि अहिले करारमा नियुक्ती गरेर कुश्मिसेरा पठाइहाल्ने डाक्टर नभएको स्वास्थ्य सेवा बिभाग टेकुले जनाएको छ ।

अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार त्यहाँका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । श्रोत र साधन नभएका कारण डाक्टर भएपनि जटिल प्रकारका उपचार कुश्मिसेरामा सम्भव छैन । कार्यभार बढेपनि जनताको सेवामा लाग्नुपर्ने बाध्यतामा अहिले स्वास्थ्यकर्मी रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्का हेल्थ असिस्टेन विदुर शर्माले गुनासो गर्नुभयो । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले ७, ८ जनाले मात्रै सेवा दिनु परेको उहाँको भनाई छ । भिडियो एकसरे मेसिन समेत नभएको प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले सामान्य सेवा बाहेक अन्य सेवा पाइदैन ।

डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरको उपचार सेवा दिनुपर्ने विरामीहरुलाई रेफर गरेर अन्यत्र पठाउनुपर्ने बाध्यता छ । सामान्य अपांगताको परिचयपत्र बनाउन डाकटरको सिफारिस चाहिने भएपनि कुश्मिसेरामा डाक्टर नहुँदा सामान्य कामको लागि समेत बागलुङ सदरमुकाम धाउनपर्ने बाध्यतामा आफुहरु रहेको सेवाग्राहीहरुको गुनासो छ ।

स्वास्थ्य विमा गरेकाहरुलाई सेवा दिइरहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा विमा सेवा पनि प्रभावित भएको छ । नियमित औषधि खानेहरुको लागि समस्या नभएपनि जटिल समस्या आएमा रेफर नै गर्नुपर्ने बाध्यतामा त्यहाँका स्वास्थ्यकर्मीहरु रहेको प्यारामेडिक्स डिल्ली प्रसाद शर्माले गुनासो गर्नुभयो । नगरपालिकाबाट सामान्य पहलले मात्रै डाक्टर नआउने भन्दै उहाँले थप राजनितिक प्रकृया नै थाल्नुपर्नेमा जोड दिनुभयो ।

अहिले कोरोना संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य सेवा केन्द्रहरुलाई तयारी रहन आग्रह गरेको छ तर जैमिनीमा एकजना पनि डाक्टर नहुँदा कोरोना रोकथाममा पनि समस्या पर्ने देखिएको छ ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री नरदेवी पुनले सात दिन भित्रमा एक्सरे मेसिन जडान हुने आश्वासन दिएपनि त्यो पुरा नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । उहाँले बोलेको केहि समयमा नै पद बिहिन बन्नुपरेको र नव आगन्तुक पदाधिकारीले यो बिषयमा चासो नदेखाएकाले पनि प्रदेशको सहयोग नआएको उनिहरुको भनाई छ । स्थाई डाक्टरको दरबन्दी यथावत राखेर अध्ययन बिदामा पठाउँदा थप समस्या देखिएको स्वास्थ्य शाखा संयोजक आचार्य बताउनुहुन्छ । एक जनाको दरबन्दी रहेको र त्यो पनि कागजमा मात्रै हुँदा अहिले जैमिनीबासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका  छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो