कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडियो, किन छाेडिन्छ ठुला नदीमा माछा ?

याे सामग्री सेअर गर्नुहाेस्

नवलपुर, १४ माघ २०७८ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाड्नुभएको छ । मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताउनुभयो । कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताउनुभयो ।

त्यस्तै प्रदेश नं १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताउनुभयो । “खोलानालामा फोहाेर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ”, कार्यालय प्रमुख यादवले भन्नुभयो, “यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ ।” माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैँडाकोट–३ स्थित ढोँडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवर्द्धन गर्न माछा भुरा छाँडिदै आएको बताउनुभयो । नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताउनुभयो । नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको उहाँकोे भनाइ छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो