जैमिनीमा सामाजिक लागत तथा लान्छना विषयक छलफल सम्पन्न, कस्तो हो कार्यक्रम ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ चैत २०७८ ।

बागलुङको जैमिनीमा वैैदेशिक रोजगारीको कारणले सृजित सामाजिक लागत तथा लान्छना विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र बिवाईसी बागलुङको समन्वयमा सोमबार कुश्मिसेरामा सुरक्षित आप्रवासन परियोजना अन्तरगत छलफल कार्यक्रम सम्पन्न भएको हो ।

वैदेशिक रोजगारमा गएकाहरुको परिवारले भोग्नुपरेको सामाजिक समस्या तथा लान्छनाका कारण अधिकांश मानिसहरुमा मानसिक समस्या समेत देखा पर्ने भएकाले समाजका नागरिकहरुले अनावश्यक कुरा काट्ने र लान्छना लगाउने काम नगन सुरक्षित आप्रवास परियोजना सामीका परियोजना संयोजक मिन प्रसाद उपाध्यायले आग्रह गर्नुभयो । श्रीमान वैदेशिक रोजगारमा गएमा श्रीमतीहरुले भोग्नुपर्ने सामाजिक समास्याहरु व्यप्त हुँदै गएको भन्दै उहाँले यस्तो समाजका केहि नकारात्मक सोच भएका व्यक्तिका कारण एउटा परिवारको तहसनहस हुने बताउनुभयो ।

हेल्वेटास नेपालको प्राविधिक सहयोग रहेको कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असरका विषयमा जानकारी गराउँदै कसैलाई समस्या परेको जानकारी पाएमा जिल्ला वा पालिकामा रहेको आप्रवासी श्रोत केन्द्रमा सम्पर्क गरिदिनु आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा जाँदा वैधानिक रुपमा श्रम स्विकृति लिएर जान र आफूसँग भएका कागजातहरुको प्रतिलिपी घरपरिवारमा दिनुपर्ने भन्दै उहाँले बैधानिक तवरबाट गएमा कुनैपनि समस्या देखा पर्दा राज्यबाट कानुनी र आर्थिक सहयोग पाइने स्पष्ट पार्नुभयो ।

यस्तै स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले वैदेशिक रोजगारीमा सकेसम्म नजान र जानै परे सिप सिकेर मात्र जान आग्रह गर्नुभयो । कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जैमिनीका नागरिकहरुले सकेसम्म यहिँ उद्यम गर्नुपर्ने भन्दै वैदेशिक रोजगारीमा केहि समस्या भए पालिकामा सम्पर्क गर्न अनुराेध गर्नुभयाे ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम बागलुङ जिल्लाको चारवटा पालिकामा सञ्चालित छ । जिल्लाको जैमिनी नगरपालिका सहित बागलुङ नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा सामी परियोजना सञ्चालनमा रहेको समन्वयकर्ता संस्था बिवाईसी बागलुङका अध्यक्ष शर्माले बताउनुभयो ।

जैमिनीमा पनि वैदेशिक रोजगारीका कारण समस्या निम्तिएको पाइएमा परियोजना वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । कार्यक्रममा समाजका अगुवा नागरिकहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार