विवाहमा विवाद र कुटपिट हुँदा एक जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

सप्तरी, १५ बैशाख २०७९ ।

सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएकाे छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परि खडक नगरपालिका ४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधवार ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरूलाई डिजे बाजामा नाच्न दिनुपर्‍याे भन्दै गाउँका केही युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए ।

जन्तीलाई रोक्न खाेजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ । त्यही क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौज सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनी सम्झाइरहेका बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उहाँको बुबा रामअषिश पासवानले बताउनुभयो ।

बिहेकै दिन गएकाे साेमवार आफ्ना छिमेकी महादेव दासले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई समेत लिएर युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुन सक्ने उहाँको आरोप छ ।

विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उहाँको बुबाको भनाइ छ । पासवानको विराटनगरमा उपचारको क्रममा आज ज्यान गएकाे प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको काफ्लेले बताउनुभयाे ।

यसैबीच उपचारको क्रममा सन्तलालको ज्यान गएपछि आक्रोशित गाउँलेले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चाेकमा तीन घण्टा चक्काजाम गरेका छन् । रासस 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो