काठमाडौँ, ११ जेठ २०७९ ।
नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गर्नुभएको हो ।
कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षमा एउटा प्रदेशमा एउटा प्रशिक्षण केन्द्रसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजाने उल्लेख छ । सरकारले नीति तथा कार्यक्रममा चितवनको गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाउने, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने र हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने कार्यलाई पनि समेटेको छ ।
सरकारको नीति तथा कार्यक्रममा खेलाडीलाई पुरस्कार, भत्ता र विमाको ब्यवस्था गरिने, फप्लामा क्रिकेट स्डेडियम निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाकी काम पूरा गर्ने र प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने पनि उल्लेख छ ।
यसैगरी आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, हरेक स्थानीय तहमा खेलग्राम निर्माण गरिने योजनालाई निरन्तरता दिइने, खेलाडीको क्षमता अभिबृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता र प्रशिक्षणको ब्यवस्था गरिने, हरेक नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक ब्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने कार्यक्रममा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाेरखापत्र अनलाइनबाट
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/2023/08/VAT-PAN-Working-Notice.jpg?fit=1080%2C1080&ssl=1)
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/banner-ad.gif?fit=1140%2C120&ssl=1)
![](https://i0.wp.com/jillakhabar.com/wp-content/uploads/NEWS-Portel-Website.jpg?fit=1080%2C1080&ssl=1)
प्रतिक्रिया दिनुहाेस्