जैमिनीको बजेट ७० करोड बढीः वडागत बजेटमा टुक्रे योजना बढी, यस्तो छ प्राथमिकता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ असार २०७९ ।

बागलुङको जैमिनीले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ७० करोड भन्दा बढीको बजेट ल्याएको छ । असार ९ गते बिहिबार भएको नगरसभामा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले ७० करोड ७० लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

जैमिनीले आगामी बर्षका लागि असल कृषि अभ्यास अभिमूखिकरण कार्यक्रमको लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जैमिनीका लागि नयाँ रहेको यस कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ हुने आशा गरिएको छ ।

बाँदरको समस्या रहेको जैमिनीमा यसको नियन्त्रण गर्ने विधिको अनुसन्धान गर्नका लागि २ लाख रुपैयाँ बजेट छुट्टिएको छ । यस्तै आगामी बर्षमा जैमिनीले आवधिक योजना र मध्यकालिन योजना खर्च संरचना निर्माणको लागि ७ लाख रुपैयाँ बजेट राखेको छ भने सेवाग्राहीहरुको सहजताका लागि कल सेन्टर स्थापना गर्न १ लाख बजेट विनियोजन भएको छ ।

बजेटले अघिल्लो कार्यकालमा तय भएर सञ्चालनमा रहेका १३ वटा दिगो सडकलाई निरन्तरता दिएको छ । यसअघिका नगर प्रमुख कृषि र पशु परियोजनालाई नसमेटेको जैमिनीले कृषकसँग नगरपालिका कार्यक्रमकोे लागि २० लाख बजेट छुट्याएको छ । आगामी आर्थिक बर्षमा ५ वटा झोलुंगे पुल, १० किलोमिटर नयाँ सडक र ६० किलोमिटर सडक मर्मत तथा स्तरोन्नती गर्नेगरी बजेट विनियोजन गरेको उप प्रमुख शर्माले बताउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न शिर्षकमा प्राप्त हुने आन्तरिक आयलाई ९० लाख पुर्‍याउने लक्ष राखेको छ । समपुरक कोषमा ३ करोड, आर्थिक विकास शिर्षकमा एक करोड ६५ लाख, सामाजिक विकासमा २ करोड ९५ लाख, पूर्वाधार विकासको क्षेत्रमा २ करोड ६ लाख, वन तथा वातावरणको क्षेत्रमा ५० लाख र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा ४० लाख रुपैयाँ विनियोजन भएको छ । चालु खर्च १० करोड २५ लाख ७३ हजार विनियोजन गरेको जैमिनी नगरपालिकाले बिभिन्न विषयगत क्षेत्रमा ३७ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

१० वटा वडा रहेको जैमिनी नगरपालिकामा समान ३० लाखका दरले कुल ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ३० लाख बजेट पाएको वडाहरुले टुक्रे बजेटलाई बढी प्राथमिकता दिएका छन् । २५ हजार रुपैयाँको समेत योजना बनाएका वडाहरुले ५ लाखसम्मको हाराहारीमा बजेट छुट्याएका छन् । १० वटा वडाले वडागत बजेटबाट मात्रै २ सय ५१ वटा योजना बनाएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो