जैमिनीमा सार्वजनिक सुनुवाइ सम्पन्न, खानेपानी देखि बाँदरको समस्या सम्मका प्रश्नहरु उठे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ असार २०७९ ।

जैमिनीको अर्जेवामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवामा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाबाट आर्थिक बर्ष २०७७/७८ मा सम्पन्न भएका र आर्थिक बर्ष २०७८/७९ मा सञ्चालित योजना तथा कार्यक्रम र वडाबाट भएका सेवा प्रवाहको सन्दर्भमा सार्वजनिक सुनुवाइ गरिएको जैमिनी नगरपालिका वडा नं ६ का वडाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सडक, खानेपानी, विद्युत, प्रधानमन्त्री रोजगार, बाँदर नियन्त्रण, रुखबुटा कटान लगाएतको विषयमा सहभागीहरुले प्रश्न तथा जिज्ञासा राखेका थिए ।

सहभागी ललित केसीले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनेहरुको छनोट वडाले नै गर्न मिल्ने व्यवस्था भए सहज हुने धारणा राख्नुभयो । नगर तथा वडाबाट हुने स साना टुक्रे योजनाको प्रभावकारीता कम हुने र कतीपय बजेटको औचित्य समेत नभएकाले यस्ता कुरामा ख्याल गर्न सहभागीहरुको सुझाव छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जनताहरुको अधिकांश गुनासाहरु देख्दा सामान्य लागेपनि समाधान हुन कठिन देखिएकाले यसबारे आफूहरुले विज्ञहरुको सुझाव अनुरुप काम गर्ने बताउनुभयो । बाँदरको समस्याको प्रसंग निकाल्दै उहाँले यसको नियन्त्रणका लागि सामान्य उपायले मात्रै नहुने देखिएको बताउनुभयो । जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणको उपाय खोजी गर्नका लागि बजेट समेत विनियोजन गरेको भन्दै उहाँले विज्ञहरु सँग यसबारे अनुसन्धान गर्ने उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाको आयोजना र शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज कुश्मिसेराको समन्वयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष कृष्ण थापा, नगर प्रमुख नर बहादुर पुन, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, योजना अधिकृत प्रेम प्रसाद सापकोटा, लेखा अधिकृत सुर्य बहादुर विक, ईन्जिनियर विवेक सापकोटा, स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्य, पशु शाखा प्रमुख कृष्ण प्रसाद ढकाल, कृषि प्राविधिक मनोज राना, राजश्व शाखाका विष्णु प्रसाद शर्मा र वडा सचिव विवेक राज पौडेल जवाफकर्ताको रुपमा रहनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो