खाना पकाउने कलासम्बन्धी ‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने, जजमा प्रियङ्का

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २५ असार २०७९ ।

नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवर्द्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली खानाको प्रवर्द्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौँ भनेर यो अभियान चलाइएको हो । हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, मैले पुलका रुपमा काम गर्न लागेको हुँ ।”

धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नुहुनेछ । सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जजका रुपमा नायिका प्रियङ्का कार्की रहनुभएको छ । नेपालमौ नौलो शोका रुपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।

साउनदेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब रु चार करोड खर्च हुने जनाइएको छ । साउन पहिलो सातादेखि कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिनुभयो । विजेतालाई रु २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।

“नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिबिसी मास्टर सेफजस्ता शो भइरहेका छन् । यो मास्टर सेफकै विधि हो, मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौँ”, निर्माता पाण्डेले भन्नुभयो ।

प्रतियोगिताको अहिले ‘प्रि अडिशन राउण्ड’ चलिरहेको छ । अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् । औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउँछन् । गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन् ।

अनलाइन आवेदनमध्ये १०० जनालाई छानिने छ । उनीहरुले निर्णायकका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ । तीसजना छनोट भएपछि उनीहरुमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ । त्यसपछि एलिमिनेट राउण्ड सुरु भएपछि १५ जनाबाट एक÷एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरुमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको निर्णायकमा प्रियङ्का कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी हुनुहुन्छ । हरेक ‘एपिसोड’मा तीन निर्णायकबाहेक अन्य दुईजना अतिथि एक सेलिब्रेटी र अर्का एक सेफ रहनेछन् । यो कार्यक्रम अवधिभर सेफहरुलाई आफ्नो पाककला देखाउने अवसर पनि पाइने पाण्डेले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो