बागलुङको रामतोला पहिरोः स्थानीयहरु आकासे पानी खाँदै, पुरै गाउँ जोखिममा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ भदौ २०७९ ।

बागलुङ नगरपालिका ११ रायडाँडाको रामतोलामा गएको पहिरोको जैमिनी नगरपालिकाका नगर उप प्रमुख सहितको टोलीले अनुगमन गरेको छ । शनिबार जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा, वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य सहितको टोलीले पहिरोको अनुगमन गरेको हो ।

जैमिनी नगरपालिकाको वडा नं १ ओडारमा समेत पहिरोको उच्च जोखिम रहेकाले पहिरोको अनुगमन गरी प्रभावितहरुको अवस्था जानकारी लिएको उप प्रमुख शर्माले बताउनुभयो । पहिरोले ओडारका स्थानीयहरुले प्रयोग गर्ने खानेपानीको ट्याङ्की समेत बगाएपछि सो क्षेत्रमा खानेपानीको अभाव भएको छ । आकासे पानी खान बाध्य ओडारवासीहरुलाई ३ सय ४५ मिटर खानेपानीको पाइप लगेर पुगेको टोलीले विगत ४ दिन देखि बन्द भएको विद्युत सेवा समेत सुचारु गराएको छ ।

पहिरोका कारण ओडारको ७ घर उच्च जोखिममा परेका छन् भने अन्य घरहरु पनि जोखिममा रहेका छन् । रामतोलाबाट झरेको पहिरोले ओडारको वारीबाट पारी जाने बाटो समेत अवरुद्ध भएको छ । कतिपय नागरिकहरु पहिरोबाट नै जोखिम मोलेर हिड्न बाध्य भएका छन् ।

पहिरोका कारण रामतोलाका ढालनाथ शर्मा, कुलराज शर्मा, विरबहादुर केसी, भूमिश्वर शर्मा, नैनाकली केसी, तेज कुमारी केसी र मिन बहादुर केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले विद्युत लाइन र खानेपानी ट्याङ्की समेत बगाएपछि आफूहरु समस्यामा रहेको स्थानीय कुलराज शमाको दुखेसो छ । ढालनाथ शर्मा, कुलराज शर्मा, विरबहादुर केसी र नैनाकली केसीको परिवार विस्थापित भएर छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

रामतोलाका नागरिकहरुले खानेपानीको पनि ट्याङ्की भत्किएपछि आकासेपानी खान बाध्य भएका छन् । पहिरोले बिजुलीका पोल ढालेर यो क्षेत्रका सयौँ घर अन्धकारमा बस्न बाधय भएका छन् । जैमिनीको ओडार र बागलुङ नगरपालिकाको रामतोलामा पहिरोले मानवीय क्षति नभएतापनि घरगोठ, बाख्राको खोर र कुखुरा पालन गरेको टहरो भत्काएको स्थानीय कुलराज शर्माले बताउनुभयो ।

पहिरो ठुलो भएकाले यसको तत्काल नियन्त्रण सम्भव नभएको उप प्रमुख शर्माको भनाई छ । पहिरोले विद्यार्थीहरु विद्यालय समेत आउन सकेका छैनन् । पहिरो अझै पनि झरिरहेकाले सतर्क रहन स्थानीयहरुलाई आग्रह गरिएको छ ।

टोलीमा जैमिनी नगरपालिकाका नगर उप प्रमुख शर्मा सहित जैमिनी १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, निवर्तमान वडाध्यक्ष भुपेन्द्र थापा, लेखा अधिकृत सुर्य बहादुर विक, प्राविधिक सहायक सावित्रा शर्मा, शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज कुश्मिसेरा बागलुङका पत्रकार लगाएतको उपस्थित थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो