जैमिनीमा बजार अनुगमनः म्याद नाघेका सामग्री भेटिए, मासु पनि सडेकाे पाइयाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ भदौ २०७९ ।

जैमिनी नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आइतबार बजार अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा म्याद नाघेका खाद्य सामग्री र सडेगलेका मासु लगाएत अखाद्य वस्तुहरु भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन टोलीका संयोजक गणेश पौडेलले जानकारी दिनुभयो । ९ वटा किराना पसल, २ वटा ब्युटि पार्लर, २ वटा होटेल र २ वटा मासु पसलको अनुगमन गर्दा अधिकांश पसलमा म्याद गएका र मापदण्ड विपरित चलेको भेटिएको थियो । उनीहरुलाई एक पटकको लागि सम्झाई बुझाई सुझाव सहित छोडेको र आगामी दिनमा पनि यस्तै कमजोरी भेटिए कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको पौडेलले बताउनुभयो ।

नीति नियममा रहेर उद्देश्य अनुसारको मात्रै व्यवसाय गर्न आग्रह गर्दै उहाँले अनिवार्य दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो । पालिकाहरुले पनि यस्ता कुराहरुमा चासो देखाउनुपर्नेमा जोड दिँदै पौडेलले नियमित बजार अनुगमन गर्न सके कोहि उपभोक्ताहरुले अखाद्य वस्तु खानु नपर्ने बताउनुभयो । अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो कोहिलाई कानुनी कारवाही गरिने पौडेलले चेतावनी दिनुभयो ।

अनुगमनको क्रममा भेटिएका कुहिएका मासु, म्याद नाघेका सामग्रीहरु फिर्ता पढाउन र डिस्पोज गर्न भनिएको छ । अनुगमन गर्दा अधिकांश पसलमा कमजोरी भेटिएको थियो ।

अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङका प्रमुख सौरव श्रेष्ठले स्थानीय निकायको अनुगमन लगाएतका गतिविधि कम भएकोे भन्दै नगरपालिकाले पनि बेला बेलामा बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । नगरपालिकालाई नै अनुगमनको अधिकार भएकाले नगरपालिकाले नै अनुगमन गरी सुझाव तथा कारवाही गर्न सक्ने उहाँको भनाई छ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङका प्रमुख सौरव श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यलय बागलुङका अधिकृत विष्णुराज शर्मा, शुभेक्षा एफएम कुश्मिसेराकी स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ बागलुङकी सदस्य सन्ध्या अचार्य, जैमिनी नगरपालिका कृषि शाखाका प्राविधिक मनोज राना, पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकाल, प्रहरी चौकी कुश्मिसेराका प्रहरी प्रमुख, प्रहरी सहायक निरिक्षक मिन बहादुर खत्री लगाएतको सहभागिता रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो