बागलुङ, ७ असोज २०७९ ।
जैमिनी नगरपालिकामा रेबीज सप्ताह सुरु भएको छ । १६ औँ विश्व रेबीज दिवसको अवसरमा जैमिनीमा सप्ताहव्यापी रुपमा रेबीज दिवस मनाउन लागिएको हो ।
एक स्वास्थ्यको अवलम्न, रेबीजबाट शुन्य निधन भन्ने नारा सहित कुकुरहरुलाई सप्ताहव्यापी रुपमा रेबीज रोग बिरुद्धको खोप लगाउन सुरु गरिएको जैमिनी नगरपालिका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । जैमिनीका सबै वडाहरुमा घरपालुवा र छाडा कुकुरहरुलाई रेबीज विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहिबार कुश्मिसेरा बजारमा रहेका डुलुवा कुकुरहरुलाई समातेर रेबीज विरुद्धको सुइ लगाइएको थियो ।
रेबीज लागेको कुकुरले मानिसलाई टोकेमा ज्यानै जान सक्ने जोखिम रहने हुँदा त्यस्तो अवस्था नआओस भन्नको लागि रेबीज बिरुद्धको खोप अभियान थालिएको ढकालले बताउनुभयो । अभियान यहि असोज १२ गतेसम्म सञ्चालन हुने छ ।
अन्य समयमा समेत पशु सेवा शाखा मार्फत रेबीज बिरुद्धको खोप निरन्तर लगाईने पशु सेवा शाखाले जनाएको छ । जैमिनी नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने योजना पनि बनाएको छ ।


प्रतिक्रिया दिनुहाेस्