जैमिनीको १ नं वडामा अनुशिक्षणः गुणस्तरीय सामान र प्राविधिक सल्लाहमा जोड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ कात्तिक २०७९ ।

बागलुङको जैमिनी नगरपालिका वडा नं १ मा अनुशिक्षण कार्यक्रम गरिएको छ । सोमबार वडा नं १ का उपभोक्ता समिति, संघ संस्था तथा समूहका पदाधिकारीहरुलाई अनुशिक्षण दिइएको हो ।

नगर तथा वडाबाट विनियोजित बजेटबाट सम्पन्न हुने योजना, कार्यक्रम तथा निर्माणका कार्यहरु कसरी सम्पन्न गर्ने भन्ने विषयमा उपभोक्ताहरुलाई अनुशिक्षण गरिएको जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । भएका योजना सहि तवरले सञ्चालन गर्नका लागि उपभोक्ताहरु नै जानकार हुनुपर्ने भएकाले उनिहरुलाई अनुशिक्षण तालिम दिइएको उहाँको भनाई छ ।

अनुशिक्षण कार्यक्रममा सहभागीहरुलाई योजना सम्झौता देखि भुक्तानी सम्मको प्रकृया, आवश्यक कागजात, योजना सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगाएतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले योजना सञ्चालन गर्दा प्राविधिक सल्लाह लिएर मात्रै काम गर्न आग्रह गर्नुभयो । जानेको आफै गर्ने र नजाने प्राविधिकलाई बोलाउने गरेमा योजना दिगो हुने भन्दै उहाँले सामग्री प्रयोग गर्दा पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।

यस्तै योजना अधिकृत प्रेम सापकोटाले योजना सञ्चालन र भुक्तानी लगाएतका प्रकृयाको बारेमा जानकारी दिँदै प्रविधिकले भने अनुसार काम गर्दा समस्या नपर्ने बताउनुभयो । उपभोक्ता समितिहरुले प्रविधिक सल्लाह अनुरुप काम गर्ने र आवश्यक कागजात तयार पारेमा भुक्तानी प्रकृया पनि छिटै हुने जानकारी दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर बिकले उपभाेक्ताहरूले सहि सलामत काम गरे पनि कागजात नमिलाउँदा भुक्तानीमा समस्या हुने गरेकाे बताउनुभयाे । कसैले पनि गलत नियत नराखेकाे भएपनि भुक्तानी प्रकृया ढिलाे हुँदा कर्मचारीहरू प्रति लाञ्छना लाग्ने गरेकाे भन्दै उहाँले काम अनुरूप बिल भरपाइ नहुँदा भुक्तानी राेकिने जानकारी दिनुभयाे । सेवाग्राहीले भने बमाेजिम बिल भरपाइ सहित कागजात पुरा गरेमा भुक्तानीकाे लागि कुनै झण्झट नहुने उहाँकाे भनाइ छ ।

कार्यक्रममा सहभागी उपभोक्ताहरुले काम गर्दा आइपर्ने समस्या, प्राविधिक त्रुटि, सामग्रीको छनोट लगाएतका विषयमा प्रश्न राखेका थिए ।

यस्तै कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले राज्यको लगानी नागरिकहरुका लागि हुने भएकाले उपभोक्ताहरुले माया गरेर योजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । आफ्नै लगानी र परिश्रम परेको पैसाले बनाएका योजना दिगो र गुणस्तरीय हुनुपर्छ भन्ने चेतना भएमा धेरै योजनाहरु टिकाउ र बलियो हुने उहाँको भनाई छ । कुनैपनि योजना सुरु गर्दा देखि सम्पन्न गर्ने बेलासम्म प्रविधिक र जानकारहरुसँग समन्वय गर्न र गुणस्तरीय काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले कुनै पनि काम गर्दा सानो गल्तीले बर्षौँसम्म समस्या पर्ने भएकाले दिगो हुनेगरी काम गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । नगरपालिका वा सरकारले गरेको लगानी पनि नागरिकहरु कै पसिनाको अंश भएकाले यसलाई जोगाउन हरेक नागरिकहरु लाग्नुपर्ने उहाँको भनाई छ । नजाने सोध्ने तर नविगार्ने नीति अवलम्बन गरेर काम गरे योजना दिगो र दिर्घकालिन बनाउन सकिने भन्दै उहाँले कुनैपनि काम गर्दा हेलचेक्राई नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नो ठाउँ बनाउने जिम्मा उपभोक्ताहरुलाई नै दिएकाले सोहि अनुरुप काम गर्न सुझाव दिनुभयो । जनप्रतिनिधिले एक दिन हेर्दैमा योजना दिगो वा कमसल देख्ने भन्दा पनि उपभोक्ता समितिले इमानदार पूर्वक काम गरे विकास गर्न सहज हुने उहाँको भनाई छ ।

अनुशिक्षण कार्यक्रममा जैमिनी नगरपालिका १ नं वडाका करिव ७० जनाको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो