जैमिनी नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न, बिभिन्न कार्यविधि र निर्देशिकाको अनुमोदन

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २७ पुस २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाको १२ औं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । बुधबार बिभिन्न कार्यविधि र निर्देशिका पारित गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रमको उद्घाटन पछि बोल्दै सांसद सुवेदीले तीन तहको सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो । आम जनमानसले प्रदेश खारेजीको कुरा गरीरहेको सन्दर्भमा प्रदेशको महत्व दर्शाउने गरी काम गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको भन्दै उहाँले बिगतका कामहरुबाट पाठ सिकेर वर्तमानमा काम गर्नुपर्ने र भबिस्यको योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिक्षाले मानवीय विकास गराउने हुँदा स्थानीय ऐन कानुन बनाउँदा शिक्षामा सुधार गर्ने गरी कानुन बनाउनुपर्ने र कर्मचारीहरुले हरेक समय प्रबिधिसँग जोडिएर काम गर्नुपर्ने उहाँको भनाई छ ।

उद्घाटन सत्रमा जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख होमनाथ सापकोटाले पालिकाले काम गने क्रममा एक आपसमा समन्वय गर्दा विकास निर्माणमा सहज हुने बताउनुभयो । पालिकाहरुले गरेका गतिविधिमा अनुगमन गर्न र समन्वयकारी भुमिका निर्वाह गर्नका लागि नै जिल्ला समन्वय समिती रहेको उहाँको भनाई छ ।

उद्घाटन समारोहको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख नरबहादुर पुनले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिने हुँदा कतिपय जनताका कुराहरु चाहेर पनि कानुनी अड्चनका कारण गर्न नसकिएको बताउनुभयो । केहि कानुन स्थानीय तहले निर्माण गर्न पाउने अधिकार प्रयोग गर्दै जैमिनी नगरपालिकाले आजको नगरसभामा विभिन्न कार्यविधी तथा निर्देशिका नगरसभामा पेश गर्ने कार्यसुची रहेको बताउनुभयो । त्यस्तै नगर उप प्रमुख हरीहर शर्माले जैमिनीमा पुर्वाधार बिकास पूर्ण नभईसकेकोले आफ्नो कार्यकालमा पुर्वधार विकासलाई जोड्दै हरेक क्षेत्रमा पाँच, दस हुँदै बीस बर्ष सम्मको दिगो योजनाको लक्ष्य बनाएर अघि बढ्ने बताउनुभयो ।

नगरसभाको दोस्रो बैठकमा नगरप्रमुख नरबहादुर पुनले ५ वटा कार्यविधि र एउटा निर्देशिकाको अनुमोदनका लागि प्रस्ताव पेश गर्नुभएकोमा सभाले सर्वसम्मत अनुमोदन गरेको छ । सभामा कार्यपालिकाले गरेका निर्णय र कार्यपालिकाबाट भएका कार्यहरुको अनुमोदनका लागि प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले निर्णय गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएकोमा उहाँको प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

नगर प्रमुख नर बहादुर पुनले “कृषि तथा पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९”,  “कृषि मजदुर परिचालन कार्यविधि २०७९”, “महिला सामुदायिक स्वास्थ्य स्वं सेविकाहरुको सेवा सुबिधा सम्बन्धी कार्यविधि २०७९”, “स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७९”, “स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९” र “जैमिनी नगरपालिका आमा र नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७९” सभामा पेश गर्नुभएको थियो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले चालु आर्थिक बर्ष २०७९/८० को समिक्षा प्रगति प्रस्तुतिकरणको प्रस्ताव सहित बजेट रकमान्तर गरी गरिएका बजेट कार्यन्वयनको अनुमोदन गरियोस् भन्ने लगाएतका प्रस्ताव सभामा गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो