बागलुङको जैमिनी नगरपालिकाले नयाँ सवारी किन्दै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २२ माघ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाले नयाँ सवारी साधन खरिद गर्न लागेको छ । जैमिनीले प्रत्येक वडाध्यक्षका लागि १/१ वटा गरी १० वटा मोटरसाइकल र १ वटा स्कारपिओ गाडी खरिद गर्न लागेको हो ।

गत पुस २१ गतेको कार्यपालिकाको बैठकले एउटा एम्बुलेन्स सहित एउटा स्कारपिओ गाडी र १० वटा एक्सपल्स नामको मोटरसाइकल खरिद गर्ने निर्णय गरेको कार्यपालिका सदस्य लाल बहादुर परियारले जानकारी दिनुभयो । मोटरसाइकल र गाडी किन्ने प्रस्ताव आएपछि जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले एम्बुलेन्सको आवश्यकता भएको ठाउँमा गाडी किन्नु गलत हुने भन्दै विरोध जनाउनु भएको थियो । सुरुमा एम्बुलेन्स किन्ने कुरा नै नआएको र एम्बुलेन्स नभए आफूले सवारी नै नचढ्ने भनेपछि एम्बुलेन्स किन्ने सहमती भएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

आफूहरु जनताको सेवा गर्न आएको तर जनताको आवश्यकता भन्दा आफ्नो सुविधा लिन खोज्दा जनमतको कदर नहुने भन्दै उहाँले आपतकालिन अवस्था आइपर्दा एम्बुलेन्स चाहिन्छ भनेपछि १५ लाख रुपैयाँ एम्बुलेन्स खरिद गर्न छुट्याएको जानकारी दिनुभयो ।

यस्तै उक्त बैठकमा नै कार्यपालिका सदस्य लाल बहादुर परियारले सवारी साधन हुँदाहुँदै तडक भडकका साथ सवारी खरिद गर्ने निर्णय गर्नु आफूलाई मान्य नहुने बताउनु भएको थियो । ६३ लाख रुपैयाँ मूल्य पर्ने स्कारपिओ गाडी र ४ लाख ५० हजार मूल्य पर्ने एक्सपल्स मोटरसाइकल किन्ने निर्णय भएको तर ठेक्का प्रक्रियामा गएको जानकारीमा नआएको कार्यपालिका सदस्य परियारले बताउनुभयो । सकेसम्म सवारी साधन किन्नै नहुने र किनेपनि सस्तो र भेग सुहाउँदो किन्नुपर्नेमा महंगा र सुविधा सम्पन्न सवारी खरिद गर्ने निर्णयको आफूले असन्तुष्टि जनाएको उहाँको भनाई छ ।

नगरपालिकामा आयश्रोत कम हुँदाहुँदै पनि महङ्गा सवारी किन्न खोज्नु जनपक्षीय नभएको भन्दै उहाँले बाहिर एम्बुलेन्स किन्ने कुरा मात्रै आएको तर यतिका महङ्गा साधन किन्ने कुरा बाहिर नल्याउनु जनताको पक्षमा नभएको बताउनुभयो । जैमिनी नगरपालिकामा अहिले १८ वटा मोटरसाइकल र २ वटा गाडी छन् । यसअघि निर्वाचित १० वटै वडाका वडाध्यक्षका लागि १/१ वटा मोटरसाइकल दिइएको थियो भने बाँकी ८ वटा मोटरसाइकल नगरपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आएका छन् ।

यसअघिका जनप्रतिनिधिले खरिद गरेका मोटरसाइकल र गाडी अहिले पनि प्रयोग भैरहेका छन् । दुई वटा गाडी नगर प्रमुख र उप प्रमुखले प्रयोग गरिरहनुभएको छ भने १० वटा मोटरसाइकल वडाध्यक्षहरुको लागि वडामा नै दिइएको छ । नयाँ मोटरसाइकल किनेपछि ती मोटरसाइकल वडाध्यक्षहरुलाई दिने र पुराना मोटरसाइकल नगरपालिकामा नै तान्ने निर्णय भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो