भारतमा भेटिएका जैमिनीका कमल विक परिवारको जिम्मामा

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २५ साउन २०८० ।

भारतमा अलपत्र अवस्थामा भेटिएका कमल विकलाई परिवारको जिम्मा लगाइएको छ । केहि दिनअघि भारतमा भेटिएर बुधबार नेपाल ल्याइएका विक पुनः घर छोडेर हिडेपछि खोजतलास गरी परिवारको जिम्मा लगाइएको हो ।

बागलुङको जैमिनी नगरपालिका वडा नं ५ घर भई विगत ३ बर्षदेखि बेपत्ता भएका विक भारतको कलकत्ता स्थित वारहिपुर स्टेसनमा भेटिएका थिए । उनलाई जैमिनी नगरपालिकाको समन्वयमा बुधबार नेपाल ल्याइएको थियो । बुधबार घर आएका कमल राति खाना खाएर सुतेपछि भागेका थिए । घरमा सुतेका कमल भागेपछि परिवारले बिहानैबाट खोजतलास सुरु गरेको थियो ।

विहिबार उनलाई कुश्मिसेरा प्रहरी चौकीका प्रहरी, जनप्रतिनिधि लगाएतले खोजतलास गर्दा कुश्मिसेरामा फेला परेपछि प्रहरी चौकी कुश्मिसेरामा बुझाइएकोमा उनलाई परिवारले जिम्मा लिएर लगेको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन बहादुर खत्रीले जानकारी दिनुभयो । उनी घरबाट राति किन भागे भन्ने केहि बताएका छैनन् । बोल्न नसक्ने उनले लेखेर आफ्ना कुरा व्यक्त गर्ने गरेका छन् ।

केहि दिन अघि भारतमा अलपत्र परेको अवस्थामा उनी भेटिएको र बोल्न नसक्ने उनलाई सोधखोज गर्दा घर जैदीको बोर माइकोथान मुनी भन्ने वाक्य लेखेपछि उनी जैमिनीको भन्ने पत्ता लगाएर नेपाल ल्याउन पहल गरिएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । हाल उनको परिवार जैमिनी नगरपालिका वडा नं ५ विनामारेमा बसोबास गरिरहेका छन् । विकले बताएको ठेगाना जैमिनी नगरपालिकाको वडा नं ७ जैदीमा पर्छ ।

जैदीको मान्छे भेटिएको जानकारीमा आएपछि भारतमा भएका नेपाली सहित महावाणिज्य दुतावासमा सम्पर्क गरेर उप प्रमुख शर्माले विकलाई नेपाल ल्याउन पहल गर्नुभएको थियो । भारत र नेपालको सिमानामा आएपछि कमलका भाइ सुरज विकले उनलाई बुझेर घर ल्याउने व्यवस्था गरिएको उप प्रमुख शर्माले बताउनुभयो । उनलाई नेपालसम्म पठाउनका लागि जैमिनी नगरपालिका वडा नं ५ ले महावाणिज्य दुतावासलाई पत्र लेखेको थियो । आफ्नो वडाको भएकाले उनलाई नेपालसम्म ल्याउन आफूहरुले समन्वय गरेको जैमिनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ठग बहादुर क्षेत्री थापाले बताउनुभयो ।

कमलले खानेकुरा माग्ने क्रममा स्टेसनका मानिसहरुले कुटपिट गरेर नाजुक अवस्थामा पुराएको देखेपछि उनलाई भारत स्थित नेपाली सहित भारतीय सञ्चारकर्मीहरुले सुरक्षित गराएका थिए । कमल पहिले सामान्य अवस्थाका रहेको र हाल बोल्न नसक्ने अवस्थामा भेटिएको परिवारले बताएका छन् । उनलाई बिहिबार मनोपरामर्श समेत दिइएको छ । उनले मनोपरामर्शदाता संग पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो