चाडवाड लागेसँगै जैमिनीमा यातयातको सास्तीः मनलाग्दी भाडा, जोखिमपूर्ण बाटो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ असोज २०७९ ।

चाडवाड लागेसँगै जैमिनीका नागरिकहरुले यातयात सेवाबाट सास्ती पाएका छन् । नियमित र सार्वजनिक गाडीहरु नचल्दा जैमिनीमा आउने र यहाँबाट जाने नागरिकहरुले थप सास्ती पाएका हुन् ।

नीजि जीप तथा पीकअपहरु उनिहरुको समयमा चल्ने हुँदा गाडीको टुंगो नहुने यात्रुहरुको गुनासो छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट जिल्ला सदसमुकाम बागलुङ जाने र नगरको केन्द्रबाट गाउँ गाउँ जाने सवारी साधनहरु नहुँदा स्थानीयहरु मारमा परेका छन् ।

जैमिनीमा अहिलेसम्म कुनैपनि संगठित सार्वजनिक यातयातहरु छैनन् भने समय तालिका अनुसार पनि चल्दैनन् । समय तालिका अनुसार नचल्ने हुँदा दिउँसोको समयमा बागलुङ जाने सवारी पाउन सकिँदैन भने बिहानै बागलुङबाट आउने गाडीहरु पनि पाउन नसकेको यात्रुहरुको गुनासो छ ।

एक त सावरी साधन पाउनै कठिन छ भने पाइहाले पनि बाटो नै खतरा रहेको छ । बागलुङ बजारबाट कुशिमसेरा आउन निकै जोखिम मोल्नुपर्ने सवारी चालकहरुको गुनासो छ । बागलुङकाे दक्षिणिभेगकाे बाटाे जाेखिम बन्दा जैमिनी सहित बरेङ गाउँपालिकाका नागरिकहरूले पनि सास्ती खेप्नुपरेकाे छ ।

जैमिनीमा यातयात नपाउने समस्या मात्रै नभएर भाडादर पनि मनोमानी भएको स्थानीय छायादत्त चापागाईले बताउनुभयो । अन्यत्रको तुलनामा जैमिनीको भाडादर दोब्बर भन्दा महंगो भएको भन्दै उहाँले नगरपालिकाले भाडादर कायम गर्दा व्यावहारिक पक्ष पनि हेर्नुपर्ने सुझाव दिनुभयो ।

नगरपालिकाले भाडादर कायम गरेपनि नियामक निकाय जिल्ला प्रशासन कार्यलय र यातयात व्यवस्था कार्यलय भएकाले भाडादर लागु गर्न समस्या भएको जैमिनी नगरपालिकाले जनाएको छ । स्थानीयहरुले नगरवस सञ्चालन गर्नुपर्ने माग गरेपनि त्यसतर्फ नगरपालिकाले चासो नदिएको नगरवासीहरुको आरोप छ । नगरपालिका आफैँले नगरबस सञ्चालन गर्न असम्भव रहेको तर यातयात व्यवसायीहरु तयार भए सहजिकरण गर्न सकिने जैमिनी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रारम्भिक रुपमा छलफल गरेको भएपनि भाडादर कायम गरेर कार्यन्वयन गराउने काम यातयात व्यवस्था कार्यलय र जिल्ला प्रशासनको भएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले बताउनुभयो । जैमिनीका बिभिन्न वडाहरुमा जाने सार्वजनिक गाडीहरु नभई पीकअप जीपहरु भएकाले उनिहरुले आफुखुशी भाडा लिएको उहाँको भनाई छ ।

अहिले नीजि जीप तथा पीकअपहरुले जिल्ला सदरमुकाम देखि कुश्मिसेरा सम्म आउनको लागि ५ सय रुपैयाँ सम्म भाडा लिने गरेको पाइएको छ । यो बाटो करिव २० किलोमिटरको दुरीमा रहेको छ । दुरीका हिसाबले छोटो देखिए पनि बाटोको अवस्थाका कारण बढी भाडा लिन बाध्य भएको यातयात व्यवसायीहरुले बताएका छन् ।

अहिले चाडवाडमा सवारी पाउनै मुस्किल भएको र बढी भाडा तिर्नुपरेको यात्रीहरुले दुखेसो पोखेका छन् । नीजि पीकअपहरुले सम्पर्कका आधारमा मान्छे बोक्ने भएकाले उनिहरुले भने बमोजिम भाडा नदिए गन्तव्यमा पुग्न नसकिने भएकाले पनि दोब्बर भन्दा बढी भाडा तिर्नुपरेको उनिहरुको गुनासो छ । अहिले जैमिनीका नागरिकहरू पीकअप जिपको पछाडि टोकरीमा बसेर यात्रा गर्न बाध्य छन् ।

जैमिनीमा अहिलेसम्म रुट परमिट पाएको सडक नभएकाले यहाँको भाडादर निर्धारणमा समस्या देखिएको यातयात व्यवस्था कार्यलय बागलुङले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो