जैमिनीमा विज्ञ सम्मेलनः कस्ता छन् विज्ञका सुझाव ?

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १९ चैत २०७९ ।

बागलुङको जैमिनीमा अहिले विज्ञ सम्मेलन चलिरहेको छ । शनिबार देखि सुरु भई २ दिन (आइतबार) सम्म चल्ने सम्मेलनमा बिभिन्न क्षेत्रका विषय विज्ञहरुले जैमिनीमा आगामी आर्थिक बर्षमा कसरी कार्यक्रम बनाउँदा उपर्युक्त हुन्छ भनेर सुझाव दिँदैछन् । कृषि, पशु, राजश्व र स्वास्थ्य क्षेत्रका विज्ञहरुले आफ्नो प्रस्तुति राखिरहँदा स्थानीय उत्पादन र श्रोत साधनलाई नै अधिकतम उपयोग गर्न सुझाव दिएका छन् । हाल उपलब्ध श्रोत साधनबाट नै पृथक काम गर्न र उपलब्धी गर्न सकिन्छ भन्ने विज्ञहरुले बताएका छन् ।

सम्मेलनको पहिलो दिन शनिबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव गोविन्द आचार्यले जैमिनीमा कृषिको सम्भावनाको बारेमा जानकारी गराउँदै जैमिनीमा रहेका स्थानीय उत्पादनहरुलाई प्रशोधन गरेर बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ उपलब्ध भाँगो, बाँको, सिस्नो, आलु लगाएतका वस्तुलाई सकेसम्म लागत कम हुनेगरी उत्पादन गर्ने र बजार मूल्य बढ्ने गरी विक्री गर्नुपर्ने भन्दै उहाँले जैमिनीमा जे चिज छ त्यसैलाई चिनाउनुपर्ने बताउनुभयो ।

जैमिनीमा यो चिज पाइन्छ भन्ने सबैलाई जानकारी हुनेगरी स्थानीय उत्पादनलाई बजारीकरण गरे कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाई छ । अरुले गरेको सिको गर्नुभन्दा स्थानीय स्तरमा के आवश्यकता हो र के उपलब्ध हुन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने भन्दै उहाँले जैमिनी नगरपालिकाका बिभिन्न वडाहरुमा जे उत्पालन हुन्छ त्यसैको व्यवसायिकीकरण गर्न सुझाव दिनुभयो ।

यस्तै शनिबार नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा.गृष्म न्यौपानेले आवश्यकता परिपूर्ति हुने गरी बजारलाई हेरेर व्यवसाय गर्नुपर्ने बताउनुभयो । यहाँबाट निकासी गर्न असहज छ भने आत्मनिर्भर हुनेजति मात्रै उत्पादन गर्ने र एकै किसिम भन्दा फरक किसिमतर्फ जानुपर्ने उहाँको जोड छ । जैमिनीका बिभिन्न वडाहरुमा फरक फरक पशुपंक्षी पालन गर्ने हो भने यहाँको आवश्यकता परिपूर्ति हुने र आयात गर्नुपर्ने बाध्यता नहुने भन्दै उहाँले एक कुराको प्रवर्धन गर्दा अर्को वस्तु अभाव हुनेबाट सचेत रहन आग्रह गर्नुभयो ।

शनिबार अन्तिम प्रस्तुतिको रुपमा स्थानीय तहमा राजश्व परिचालन, क्षमता विकास तथा वेरुजु लगाएतको विषयमा आफ्नो प्रस्तुति दिँदै लोक सेवा आयोगका उपसचिव देवि प्रसाद सुवेदीले राजश्वको लागि सुरुमा राजश्वका क्षेत्रहरुको तथ्याङ्क लिनुपर्नेमा जोड दिनुभयो । राजश्वका श्रोत पहिचान गरी तथ्यांक राखेपछि यसको दर र दायरा निर्धारण गर्न सकिने भन्दै उहाँले स्थानीय तहले राजश्वको क्षेत्र पहिचान गनुपर्ने बताउनुभयो ।

जैमिनीमा भएका स्थानीय वस्तुहरुको बजारिकरण गर्न सके यसबाट पनि राजश्व संकलन गर्न सकिने भएकाले पहिले यस्ता वस्तुहरुको पहिचान गरी तथ्यांक राख्नुपर्ने उहाँको भनाई छ । सामान्यतया नगरपालिकाले लिने कर, राजश्व र दस्तुरलाई मात्रै राजश्वको आधार मान्नुभन्दा राजश्व उठ्ने क्षेत्रको खोजी गर्ने र यसलाई परिचालन गर्न उहाँले सुझाव दिनुभयो । राजश्वको सदुपयोग गर्ने, खर्च घटाउने, कुन क्षेत्रमा खर्च गर्दे हो त्यसको औचित्य पहिचान गर्ने र बेरुजु आउनुको कारण खोजेर काम गर्ने हो भने स्थानीय सरकार बलियो हुने उहाँको धारणा छ ।

यस्तै आइतबार पहिलो प्रस्ततिको रुपमा स्वास्थ्य क्षेत्रका विषयमा सहजिकरण गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल चालिसेले स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गर्न सक्ने धेरै काम भएपनि अलमलका कारण यस्ता काम नदेखिएको बताउनुभयो । विरामीहरुको रोग पहिचान सहितको तथ्यांक लिने, उपलब्ध विज्ञहरुको समूह बनाउने र उनीहरुसंग परामर्श गरेर उपचार विधि अवलम्बन गर्न सकिने भन्दै उहाँले सामान्य खालका उपचार स्थानीय तहमा नै हुने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । स्वास्थ्य असुविधाकै कारण बसाईँ सरेर जानेक्रम बढ्ने भएकाले नागरिकको सामान्य स्वास्थ्य उपचार गर्ने वातावरण स्थानीय तहले गर्नुपर्ने उहाँको भनाई छ ।

बसाईँ सराई गरेर अन्यत्र जाने क्रम बढ्दा धेरै कुरामा घाटा हुने हुँदा जनताहरुलाई पलायन हुनबाट रोक्न भएका स्वास्थ्यचौकीहरुमा नै सुविधा बढाउन सकिने भन्दै उहाँले नागरिकहरुलाई स्वास्थ्य विमा प्रति जानकारी गराउने र प्रोत्साहन गर्न आग्रह गर्नुभयो । अन्य क्षेत्रमा केहि कुरा नगरौँ वा मिलाउँ भन्न सकिने भएपनि स्वास्थ्य क्षेत्रमा त्यो सम्भव नहुने उहाँको भनाई छ । १ जनाको खाना २ जनाले खान सकिने उदाहरण दिँदै उहाँले १ जनाले २ दिन खाने औषधि २ जनाले बाँडेर १ दिन खान नसकिने भएकाले स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार संवेदनशिल हुनुपर्ने बताउनुभयो ।

आइतबार पूर्वाधार विकास सम्बन्धी पूर्वाधार विकास निर्देशनालय पोखराका सिनियर इन्जिनियर.रामबावु पौडेलले पूर्वाधार निर्माण गर्दा भविष्यको जोखिम र हुनसक्ने विपदलाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । विशेषगरी अहिले अधिकांश स्थानीय सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको भएपनि यसबाट हुनसक्ने जोखिमको भने पूर्वमूल्यांकन नगरेको भन्दै उहाँले विकास संगै हुनसक्ने विनासलाई पनि प्राथमिकतामा नै राख्न आग्रह गर्नुभयो । जैमिनीको भूगोल समथर नभएको र यहाँ निर्माण हुने सडकले जोखिम निम्त्याउने भएकाले निर्माण गर्दा जत्तिकै संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

सम्मेलनमा आइतबार शिक्षा सम्बन्धी शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला, स्थानीय तह विकासको सन्दर्भमा नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबावु कँडेल, पर्यटन सम्बन्धी प्राध्यापक डाक्टर हिमलाल घिमिरे, बाँदर नियन्त्रण सम्बन्धी छत्रदेव गाउँपालिका अर्घखाँचीका पूर्व अध्यक्ष लेखनाथ पोखरेल र कृषि अनुसन्धान सम्बन्धी कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानीक रमेश आचार्य आफ्नो प्रस्तुति राख्नुहुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो