बागलुङ, ३ जेठ २०८० ।
अर्जेवाको एक गोठमा आगलागी भएको छ । गएराति १२ बजे तिर बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका थमहरि चालिसेको गोठमा आगलागी भएको हो ।
आगलागीका कारण गोठमा रहेको दुहुनो भैँसी र १० महिनाको पाडाको शरिर जलेको प्रहरी चौकी बेलबगरका प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो । राति एक बजे घरकाले आगलागी भएको थाहा पाएपछि छिमेकमा गुहारेका थिए । आगोले टिनको छानो भएको २ तलाको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । गोठमा भएका घाँसपात र दाउराहरु समेत सबै जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय र पशुपंक्षीको क्षति भने भएको छैन । आगो लाग्दै गर्दा भैँसीको दाम्लो बलेर छिनेपछि भैँसी आफै बाहिर निस्किएको भएपनि ज्यानतिर आगोले पोलेको छ । गोठमा रहेका गोरु र बाख्रा सकुशल रहेका छन् ।
बिहान ६ बजे प्रहरीलाई सूचना आएको र प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का गराएको प्रहरी प्रमुख उपाध्यायले बताउनुभयो । आगलागी के कारणले लाग्यो भन्ने थाहा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहाेस्