जैमिनी नगरपालिकाले नयाँ गाडी किन्यो, नागरिक स्तरबाट चर्को आलोचना

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ९ जेठ २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले नयाँ गाडी खरिद गरेको छ । यस अघि २ वटा गाडी खरिद गरेको नगरपालिकाले यस पटक अर्को गाडी खरिद गरेको हो । अब याे संगै जैमिनी नगरपालिकाकाे ३ वटा गाडी भएका छन् ।

नगरपालिकाले महिन्द्रा कम्पनीको स्कारपिओ गाडी खरिद गरेको छ जसको बजार मूल्य मोडल अनुसार साँढे ५८ लाख देखि माथि छ । जैमिनीले किनेकाे गाडी स्कारपिओ एस फाइभ फाेर ह्विलर हाे जसकाे बजार मूल्य ५८ लाख ५० हजार रूपैयाँ छ । नगरपालिकाले गाडी खरिद गरेको विषयमा हामीले जिन्सी शाखा प्रमुख पृथी बहादुर थापासंग बुझ्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन । देशभर नै आर्थिक संकट देखा परेकाले खर्च कम गर्ने र विलासिताका वस्तुहरु खरिद नगर्ने सरकारको निर्णय कुल्चेर नगरपालिकाले गाडी खरिद गरेपछि नागरिक स्तरबाट चर्कोे आलोचना भैरहेको छ ।

गाडी खरिद गर्ने विषयमा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले यस अघिकै जनप्रतिनिधिले गरेको निर्णय कार्यन्वयन गरेको बताउनुभएको थियो । गतबर्ष बैशाखमा भएको स्थानीय चुनावबाट जैमिनी नगरपालिकामा नयाँ जनप्रतिनिधि आएका छन् । जनप्रतिनिधिहरुको एक बर्षे कार्यकालमा एम्बुलेन्स खरिद गर्ने कुरा प्राथमिकतामा परेको छ तर एम्बुलेन्स भन्दा सुविधा सम्पन्न गाडी आएपछि जैमिनीका नागरिकहरु असन्तुष्ट भएका छन् ।

स्कारपिओ गाडीकाे माेडल अनुसार हालकाे बजारमूल्य

यस अघि जैमिनी नगरपालिकामा रहेको शुभेक्षा एफ.एम र जिल्लाखबर डटकमले नगरपालिकाले १० वटा मोटरसाइकल र एउटा ६३ लाख रुपैयाँ मूल्य पर्ने स्करपिओ गाडी खरिद गर्न लागेको समाचार प्रकाशन र प्रसारण गरेपछि नागरिक तवरबाट विरोध आएको थियो । सोहि समयमा नै नगरपालिकाले यो निर्णयबाट पछि हट्नुपर्ने भन्दै नागरिकहरुले सामाजिक सञ्जालबाट दवाब समेत दिएका थिए । गत पुस २१ गतेको कार्यपालिकाको बैठकले एउटा एम्बुलेन्स सहित एउटा स्कारपिओ गाडी र १० वटा एक्सपल्स नामको मोटरसाइकल खरिद गर्ने निर्णय गरेको कार्यपालिका सदस्य लाल बहादुर परियारले जानकारी दिनुभएकाे थियाे ।

जैमिनीले एम्बुलेन्स खरिद गर्ने कुराको प्रचार भएपनि गाडी र मोटरसाइकल खरिद गर्ने कुरा गुपचुप जस्तै भएको थियो । अहिले एम्बुलेन्स आउनुभन्दा अघि गाडी खरिद हुँदा नागरिकहरुले सामाजिक सञ्जालमा समेत विरोध गरेका छन् ।

यस अघिका २ वटा गाडी सञ्चालनमा नै रहेको र आवश्यकता नै भए भुगोल सुहाउँदो र सस्तो गाडी खरिद गर्नुपर्नेमा सुविधासम्पन्न महंगो गाडी खरिद गर्नुले नगरपालिका नागरिकको आवश्यकता भन्दा सुविधा र स्वार्थमा लिप्त भएको स्थानीय शिव श्रीसले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल मार्फत स्करपिओ गुड्ने सडकको अवस्थाको बारेमा पनि ध्यान दिन आग्रह गर्दै नागरिकका स–साना समस्या र आवश्यकता प्रति पनि जिम्मेवार र जवाफदेखि हुन ध्यानाकर्षण गराउनुभएको छ ।

सरकारी कार्यलयको सवारीमा सेतो प्लेटमा रातो अक्षर हुनुपर्नेमा नगरपालिकाले खरिद गरेको गाडी अहिले भन्सार पास गर्ने कम्पनीकै नाममा भएकाले नीजि प्रयोजनको (रातो) नम्बर प्लेट राखिएको छ ।

याे पनि पढ्नुहाेस् ।

बागलुङको जैमिनी नगरपालिकाले नयाँ सवारी किन्दै


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार