जैमिनीमा जातीय विभेद निवारणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न, कसले के बोले ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १६ फागुन २०७८ ।

बागलुङको जैमिनीमा जातीय विभेद निवारणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा वडा नम्बर १,२,४ र ५ का दलित समुदायका नागरिकहरुका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

कुश्मिसेरा बजारमा आयोजित कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले संसारमा जातजातिमा बिभेद गर्ने भनेर कुनै धर्म र कानुनले उल्लेख नगरेको भन्दै जातीय विभेद अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । कसै कसैले हिन्दु धर्मको ग्रन्थहरुमा विभेद भएको भन्ने भ्रम छरेकोप्रति लक्षित गर्दै उहाँले सिपको आधारमा कामको बाँडफाँड गरिएको र यसैलाई जातीय विभेद गरिएको बताउनुभयो । कसैको कामलाई शासकहरुले सानो र ठुलो भन्दै विभेद गरिएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले दलित समुदायहरुले आफ्नो आचरण सुधार गर्ने र आत्मनिर्भर बन्न सके कसैले हेप्न नसक्ने धारणा राख्नुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले अध्ययन र सिपले मान्छेलाई उत्कृष्ट बनाउने भन्दै जातीय विभेद कुनै शासकहरुले आफु उच्च भएको देखाउन गरेको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियारले दलित समुदायले विभेदकै कारण आफ्नो पेशाबाट पलायन हुनुपरेको दुखेसो पोख्नुभयो । दलित समुदायले आफ्नो परम्परागत पेशालाई पनि आधुनिक तरिकाले जोगाइराखनुपर्ने भन्दै उहाँले अहिले कानुनले दिएको अधिकार भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षक तथा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले दलितहरुको हक अधिकार र कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । दलितहरुले आफ्नो हक र अधिकारको लागि चेतनशिल हुनुपर्ने भन्दै उहाँले चेतनाले प्रश्न गर्न सिकाउने र प्रश्नबाट अधिकार सहितको उत्तर आउने बताउनुभयो । उहाँले संविधानले दिएको दलित हकलाई ससक्त सहभागिता सहित प्रयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै प्रशिक्षक तथा जैमिनी नगरपालिका ५ विनामारेका वडा सचिव रुद्र बहादुर विकले दलित समुदायहरुले जन्म मृत्यु जस्ता घटनादर्ता गर्न तदारुकता नदेखाएको भन्दै ३५ दिनभित्र अनिवार्य घटनादर्ता गर्न आग्रह गर्नुभयो । घटनादर्ता नगरे सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने भन्दै उहाँले कागजात विना सरकारी लगाएत कुनैपनि सेवा पाइन्छ भनेर जाँदा दुःख मात्रै पाइने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नं १, वडा नं २ का तल्लो भेग, वडा नं ४ र वडा नं ५ का दलित समुदायका नागरिक सहित अधिकांश महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरूले दलितका हक र अधिकार सम्बन्धी जिज्ञासा राखेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो