जैमिनीमा ६ मेयर र ५ उपमेयर सहित १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराए

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ बैशाख २०७९ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङको जैमिनी नगरपालिकामा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बैशाख ११ र १२ गते जैमिनी नगरपालिकाबाट विभिन्न पार्टी र स्वतन्त्रबाट समेत गरी नगर प्रमुख, उप प्रमुख, १० वटा वडाको वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य पदमा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमुखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मला बानियाँ क्षेत्री सापकोटा र उप प्रमुख पदमा चिना केसीको उम्मेदवारी परेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली कांग्रेस(विपी) बाट काशिराम आचार्यको नगर प्रमुख पदमा उम्मेदवारी परेको छ ।

यस्तै स्वतन्त्रबाट नगर प्रमुख पदमा जयराम आचार्य र शिवलाल सापकोटाको उम्मेदवारी परेको छ भने उप प्रमुखमा रुद्रा कुमारी रोका क्षेत्री र कृष्ण राज पौडेलको उम्मेदवारी परेको छ । जैमिनीमा पाँच दलीय गठबन्धन भएपनि अधिकांश वडाबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
राजनीतिक दलहरुले अनेक बहाना बनाएर चुनाव जित्ने तर काम गर्न नसक्ने देखिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो । अहिले पनि बिभिन्न गठबन्धनका नाममा अयोग्य उम्मेदवार उठाउने र पछि जनताले पछुताउनुपर्ने अवस्था आउन सक्ने भएकाले आफूले उम्मेदवारी दिएको भन्दै उहाँले नागरिकहरुले भोट हाल्दा योग्य र काम गर्नसक्ने उम्मेदवारलाई दिनुपर्ने बताउनुभयो ।

उता नेपाली कांग्रेका निवर्तमान सभापति काशिराम आचार्यले पनि नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवार दिनुभएको छ । गठबन्धनको भागवण्डा गर्दा नगर प्रमुख राष्ट्रिय जनमोर्चाले पाएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पार्टीले गठबन्धनका नाममा आफ्नो मूल्य चुकाएर कार्यकर्ता रुष्ट हुने काम गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको आचार्यले बताउनुभयो ।

यसैविच जैमिनीको उप प्रमुखमा उम्मेदवारी दिएकी रुद्रा कुमारी रोका क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुहुने भएको छ । आइतबार दिउँसो बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुख पदमा उम्मेदवारी दिनुभएकी क्षेत्रीले उम्मेदवारी फिर्ता लिन लाग्नुभएको हो ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाकी नेतृ तथा निवर्तमान जैमिनी नगरपालिका वडा नं ५ का वडा सदस्य तथा कार्यपालिका सदस्य क्षेत्रीले पदबाट राजीनामा दिएर कसैको सल्लाहबिना स्वतन्त्रबाट उप प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । पार्टीको नीति विपरित र आफ्नो हिसाबबाट उम्मेदवारी दिएको र यसले समग्र पार्टीलाई नै असर गर्ने भएकाले आफूले उम्मेदवारी फिर्ता लिने निणर्य गरेको क्षेत्रीले बताउनुभयो ।
“मलाई कसैले उक्साएको पनि होइन, पार्टीमा सल्लाह गरेको पनि होइन, कुनै गठबन्धनलाई असर पारुँ वा हराउँ भन्ने मनसायले पनि मैले उम्मेदवारी दिएकी होइन” उहाँले जिल्लाखबर डटकमसँगको कुराकानीमा भन्नुभयो “मैले आफ्नै तरिकाले उम्मेदवार दिउकी हुँ पछि पार्टीलाई असर हुने ठानेँ र फिर्ता लिने निणर्य गरेँ ।”

अहिले गठबन्धन बाट नगर प्रमुख जनमोर्चाले पाएको र आफ्नो उम्मेदवारीले समग्र गठबन्धनलाई नै असर हुनसक्ने भन्दै उहाँले आत्मालोचना गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो