जैमिनीमा चुनावी प्रचार तिब्रः सभा भन्दा घरदैलाे प्राथमिकतामा, के भन्छन् उम्मेदवार ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ बैशाख २०७९ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जैमिनीमा उम्मेदवारहरु चुनावी प्रचार र घरदैलोमा जुटेका छन् । आफ्ना एजेन्डा जनतालाई सुनाउने र उनिहरुसँग मत माग्ने क्रममा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका हुन् ।

बिहिबार पाँच दलिय गठबन्धनको चुनावी सभा जैमिनी नगरपालिका ८ छिस्तीमा सम्पन्न भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट जैमिनी नगर प्रमुखका उम्मेदवार नर बहादुर पुन, उप-प्रमखका उम्मेदवार हरिहर शर्मा, छिस्तीका वडा अध्यक्षका उम्मेदवार बिमल श्रीस, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य लगायतको टोलीले छिस्तीको विभिन्न ठाउँमा भेटघाट तथा कार्यक्रम गरेका गठबन्धनको प्रचारप्रसार समितिले जनाएको छ ।

कार्यक्रममा प्रमुख पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुनले आफूलाई जनताले निर्वाचित गराएमा जनताको घरदैलोमा गएर आवश्यकता पहिचान गरी योजना बनाएर कार्यन्वयन गर्ने बताउनुभयो । आफूहरुले कानुनको पाटो सहज बनाइदिने र जनताको आवश्यकतालाई विज्ञहरुको टोली सहित राखेर योजना बनाउने भन्दै उहाँले पहुँच हुने र नहुनेमा भएको भेदभावलाई अन्त्य गरी समान सेवा दिने प्रतिवद्धता जनाउनुभएको छ । अहिले देखिएको बेतिथि र भद्रगोल अवस्थालाई एउटा पद्धति बनाएर विकास गर्दै लैजाने र त्यसमा सबै जनताले समान सुविधा पाउने उहाँको भनाई छ ।

यस्तै नगर उप प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता हरिहर शर्माले अन्य स्थानीय तहको तुलनामा जैमिनी नगरपालिका पछाडि परेकाले यसको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । आफूलाई जनताले निर्वाचति गराएमा शिक्षा, स्वास्थ्य, यातयात, खानेपानी जस्ता नागरिकका आधारभूत र अनिवार्य आवश्यकतालाई सहज पहुँचमा पुर्‍याउने प्रतिवद्धता जनाउँदै उहाँले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर व्यवसायिक कृषिको अवधारणा ल्याउने बताउनुभयो । कुनैपनि क्षेत्रको विकासका लागि विज्ञता हासिल गर्नुपर्ने भन्दै नेता शर्माले विज्ञको सुझावमा कार्यक्रम बनाएर कार्यन्वयन गर्ने बताउनुभयो । उहाँले जैमिनी नगरपालिकामा शान्ति सुरक्षा र सुशासन कायम गर्न आवश्यक नियम बनाएर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चुनावी सभा तथा जनभेटघाटको क्रममा जनताले आफ्ना समस्या जिज्ञासा राखेका थिए भने अभियानका टोलीलाई जनताले फूलमालाले सम्मान गर्दै विजयको लागि आर्शिवाद पनि दिएका थिए ।

यता नेकपा एमालेको चुनावी प्रचार प्रसार टोलीले बिहिबार जैमिनी नगरपालिकाको वडा नं १ मा घरदैलो कार्यक्रम गरेको छ । टोलीले कुश्मिसेरा बजार, सिरबारी, सामरुम्टा लगाएतका ठाउँमा घरदैलो कार्यक्रम गरेको नेकपा एमालेको चनाव प्रचार प्रसार कमिटिले जनाएको छ । सो टोलीमा नेकपा एमालेबाट जैमिनीको नगर प्रमुखका उम्मेदवार लिला राना, उप-प्रमुखका उम्मेदवार उषा पौडेल, लगायतको सहभागिता रहेको छ ।

नगर प्रमुखका उम्मेदवार लिला रानाले आफ्नो कार्यकालमा सार्वजनिक विद्यालयमा अङग्रेजी माध्यमबाट पढाउने व्यवस्था गरिने, दलित बस्तीमा आयआर्जनका कामहरु गरिने, कुश्मिसेरा बजारलाई व्यवस्थित गरिने लगाएतका प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै नेपाली कांग्रेस (विपी) को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार काशिराम आचार्यले पनि आफ्नो चुनावी प्रचारलाई तिब्रता दिनुभएको छ । करुवा चिन्ह लिएर उहाँ अहिले मतदाताको घरदैलोमा जानुभएको छ । जैमिनी विकासको लागि आफूसँग स्पष्ट खाका रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो प्रचारलाई तिब्रता दिएको छ । नगर प्रमुख, उप प्रमुख र केहि वडामा वडाध्यक्ष समेत उठाएको राप्रपाले पनि घरदैलो अभियान र प्रचारप्रसारलाई तिब्रता दिएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरु पनि अहिले चुनावी प्रचारमा खटिएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो