जैमिनीका वडाध्यक्षहरुद्वारा पदभार ग्रहणः पुरानालाई विदाई, नयाँलाई स्वागत

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० जेठ २०७९ ।

जैमिनी नगरपालिकाका निर्वाचित वडाध्यक्षहरुले सोमबार पदभार ग्रहण गरेका छन् । जैमिनी नगरपालिको १० वटै वडाका नव निर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरेका हुन् ।

१० वटा वडा रहेको जैमिनी नगरपालिकामा सबै वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरुको पदभार पछि नियमित काम सुरु भएको छ । सबै वडाहरुमा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान सहित विदाई र नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन र स्वागत गरिएको छ ।

वडा नं १ का निवर्तमान वडाध्यक्ष भुपेन्द्र थापाले नव निर्वाचित वडाध्यक्ष विष्णु प्रसाद आचार्यलाई बधाई दिँदै आफ्नो कार्यकालमा भएका राम्रा कामहरुलाई निरन्तरता दिन र अधुरा कामहरुलाई पुरा गर्न आग्रह गर्नुभयो ।
यस्तै वडा नं २ का निवर्तमान वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले नव निर्वाचित वडाध्यक्ष प्रेम प्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा पनि सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफ्नो अनुभवमा केहि सिकाई भएको र जनताको चित्त बुझ्दो गरी काम गरेकाले अहिलेको जनप्रतिनिधिहरुले पनि त्यसतर्फ ध्यान दिन उहाँको आग्रह छ ।

पदभार कार्यक्रममा वडाध्यक्षहरुले निवर्तमान जनप्रतिनिधिहरुको सुझाव र अनुभवलाई अनुशरण गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

वडा नं २ को कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन र उप प्रमुख हरिहर शर्मा पनि उपस्थित हुनुभएको थियो । कार्यक्रममा नगर प्रमुख पुनले जनताको भावना अनुरुप काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । यस्तै नगर उप प्रमुख हरिहर शर्माले सुशासन र पारदर्शिता जनताको लागि अमूल्य रहने भन्दै त्यसतर्फ ध्यान दिनु आग्रह गर्नुभयो । जनताका कुनैपनि कामहरु विना पूर्वाग्रह समाधान गरिदिने जनप्रतिनिधिका्े दायित्व भएकाले आफ्नो दायित्वबोध गर्न उहाँले सुझाव दिनुभयो ।

यहि बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जैमिनी नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन, उप प्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा सहित जैमिनी नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका विष्णु आचार्य, वडा नं २ मा नेपाली कांग्रेसका प्रेम प्रसाद सापकोटा, वडा नं ३ मा नेकपा माओवादी केन्द्रका कृष्ण भुजेल, वडा नं ४ मा नेकपा एकिकृत समाजवादीका चक्र थापा, वडा नं ५ मा नेपाली कांग्रेसका ठग बहादुर क्षेत्री थापा, वडा नं ६ मा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर थापा, वडा नं ७ मा नेपाली कांग्रेसका केन्द्र बहादुर सुनार, वडा नं ८ मा नेपाली कांग्रेसका विमल श्रीस, वडा नं ९ मा नेकपा एमालेका सन्दिप थापा र वडा नं १० मा राष्ट्रिय जनमोर्चाका श्री प्रसाद थापा वडाध्यक्षमा विजयी हुनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो