जैमिनीमा विषयविज्ञहरुसँग अन्तरक्रिया सम्पन्न, कसले के सुझाव दिए ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ जेठ २०७९ ।

बागलुङको जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको भावी नीति कार्यक्रम र बजेट तर्जुमाको सन्दर्भमा सम्बन्धित विषयका विषयविज्ञहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार कुश्मिसेरामा सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि तथा वागवानी, खाद्य तथा खाद्य सुरक्षा, मानवशास्त्र, स्वास्थ्य लगाएतका विषयमा अन्तरक्रिया गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा वैज्ञानिक श्याम प्रसाद पौडेलले वागवानी सम्बन्धी आफ्नो प्रस्तुति राख्दै जैमिनीमा कृषि तथा वागवानी सम्बन्धी सम्भावनाहरु प्रचुर रहेको बताउनुभयो । खेर गैरहेका सामुदायिक वनहरुलाई उपयोग गर्नुपर्ने भन्दै उहाँले वरपर भएका रुख तथा जडिबुटीहरुको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । यस्तै बरिष्ठ कृषि विकास अधिकृत भानुभक्त भट्टराईले कृषि सम्बन्धी आफ्नो प्रस्तुति राख्दै जैमिनी नगरपालिकाले नगरभित्र भएका कृषि उपजहरुको लेखाजोखा राख्नुपर्ने बताउनुभयो । जैमिनीमा नै कृषिका विउ विजन उत्पादन तथा वितरण गर्नुपर्ने भन्दै उहाँले ब्लक तथा पकेट क्षेत्रलाई विउ उत्पादनमा प्रोत्साहन गर्ने र उचित पुरस्कारको समेत व्यवस्था गर्न सुझाव दिनुभयो ।

डाक्टर साल्मेली यादवले जैमिनीमा टेलिमेडिसिनको सम्भावना र प्रभावकारिताको बारेमा जानकारी दिँदै यसबाट ग्रामिण समुदायका नागरिकहरु लाभान्वित हुने बताउनुभयो । दुर्गममा रहेका नागरिकहरुको समस्या तत्काल समाधान हुन नसक्ने अवस्थामा टेलिमेडिसिन प्रविधि अपनाएर रोगको पहिचान र उपचार पद्धति जानकारी लिन सकिने उहाँको भनाई छ । टेलिमेडिसिन भनेको कुनैपनि विरामीको रोगको अवस्थाका बारेमा दक्ष तथा अनुभवी डाक्टरहरुसँगको परामर्शमा गरिने उपचार पद्धति हो ।

कार्यक्रममा सह प्राध्यापक डाक्टर मन बहादुर खत्रीले मानवशास्त्रको बारेमा जानकारी दिँदै समावेशी सिद्धान्त र विकासको अवधारणाबारे प्रस्ट पार्नुभएको थियो । कुनैपनि विकास सानोबाट सुरु गर्ने र प्रभावकारी तवरबाट बहुक्षेत्रमा प्रभाव पार्नेगरी योजना तथा विकासको कार्यन्वयन गर्नुपर्ने उहाँको भनाई छ । यस्तै स्वास्थ्य मन्त्रालयका बरिष्ठ जेसी सल्लाहकार सिताराम प्रसाईँले लैंगिक तथा अपांगता भएकाहरुको लागि समानता हुनेगरी योजना बनाउन सुझाव दिनुभयो । लैंगिक समानता तथा सामाजिक समावेशिकरणको सिद्धान्त अनुसार कोहि पनि नछुट्ने गरी दिगो विकासको लक्ष निर्धारण गर्नुपर्ने भन्दै उहाँले समता, समावेशिता र समानता हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य सुरक्षा तथा असल कृषि उद्यमको बारेमा जानकारी दिँदै गुणस्तरीय खाद्यवस्तु भएको वा नभएकोमा मापन गर्ने प्रावधानहरु अवलम्बन गर्नुपर्ने बताउनुभयो । असल कृषि अभ्यासका प्रावधान, प्रमाणिकरण, कार्यन्वयनका चरण, अनुगमन र परिक्षण पश्चात प्रमाणित प्रमाणपत्र प्रदान गर्ने नीति रहेको उहाँको भनाई छ । कार्यक्रमको अवसरमा अर्थशास्त्री मनोज पौडेलले ग्रामिण विकास अर्थतन्त्रमा लगानी सम्मेलन गर्ने, जैमिनीको विकासको मोडेल तयार गर्ने, लगानी गर्ने क्षेत्र छुट्याउने तथा बाहिरिएको पुँजीलाई यहिँ लगानी गर्ने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । कुनैपनि कार्यको योजना बनाएर अघि बढ्नुपर्ने भन्दै उहाँले आवधिक योजनाको कार्यन्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै अनुसन्धान अधिकृत डाक्टर कृष्ण पहारीले खाद्य सम्बन्धी मापदण्ड, गुणस्तरीयता, मितव्यायिता लगाएतको बारेमा जानकारी गराउँदै स्थानीय खानेकुराहरु पोषणयुक्त भएतापनि मिलाएर नखाइएको बताउनुभयो । रैथाने खाद्यवस्तुको संरक्षण गर्नुपर्ने भन्दै उहाँले खानेकुरा खेर नफाल्ने अवस्था भएमा मात्रै सबैलाई लाभ हुने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले आफ्नो एजेण्डा अनुसार विज्ञहरु ल्याएको र तत्काल भन्दापनि दिर्घकालिन रुपमा प्रभाव पर्नेखालका कार्यक्रम निर्माण गर्नुपर्ने सुझाव आएको बताउनुभयो । आफ्नो पनि तत्कालिन भन्दा दिर्घकालिन योजना तथा नीति निर्माण बनाउने चाहना रहेकाले सोहि अनुरुप बनाउने उहँँको भनाई छ । नगर उप-प्रमुख हरिहर शर्माले आर्थिक उपार्जनको दिर्घकालिन बाटो खोज्ने र प्रविधिसँग जोडिएर कार्यक्रम ल्याउने बताउनुभयो । आगामी दिनहरुमा कुनै योजना बनाउँदा विज्ञहरुको सुझावलाई कार्यन्वयन गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा टिप्पणीकर्ता डाक्टर प्रमोद ढकालले भैरहेका वस्तुको नास गरेर अर्को वस्तुको आशा गर्नुभन्दा भैरहेका चिजहरुको महत्व बुझेर उपयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । विज्ञहरुको सुझावलाई मनन गर्दै प्रभावकारिताको आधारमा विकास गर्न सके समृद्ध जैमिनी निर्माणमा सहज हुने उहाँको भनाई छ । यस्तै टिप्पणीकर्ता प्रेम चापागाईँले योजना बनाउने मात्रै नभई कार्यन्वयनको पाटोलाई बढी महत्व दिनुपर्ने बताउनुभयो । योजना बनाउनुमात्रै सफलता नभएको भन्दै उहाँले कार्यन्वयन पछि हुने प्रभावका आधारमा सफल वा असफल हुने धारणा राख्नुभयो ।

कार्यक्रममा विषयविज्ञ सँगै जैमिनी नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, नगरपालिकाका विद्धत्व नागरिकहरु लगाएतको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार