जैमिनीमा प्रधानमन्त्री रोजगारबाट २०१ जनाले राेजगार पाए , २२ वटा योजना सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ साउन २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा प्रधानमन्त्री रोजगारबाट २२ वटा योजना सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ८ वटा वडामा २२ वटा योजना सम्पन्न भएको हो ।

२ वटा सिचाई कुलो मर्मत, ५ वटा सडक मर्मत, १ वटा शौचालय निर्माण र १४ वटा पदमार्ग निर्माण गरी प्रधानमन्त्री रोजगारबाट २२ वटा योजनामा २ सय १ जनाले रोजगार पाएको जैमिनी नगरपालिकाका रोजगार संयोजक सुरेश पुनले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । आर्थिक बर्ष २०७८/७९ मा सुचिकृत बेरोजगारहरुमध्ये २ सय १ जनाले १२ हजार ६ सय १७ दिन बराबरको काम गरेको उहाँको भनाई छ ।

चालु आर्थिक बर्ष २०७९/८० मा जैमिनी नगरपालिकामा ३ सय २६ पुरुष र ४ सय ६३ महिला गरी कुल ७ सय ८९ जना बेरोजगारको सूचिमा सूचिकृत भएका छन् । उनिहरुको विवरण सूचना व्यवस्थापन प्रणालीमा समेत प्रविष्ट भैसकेको छ ।

गत आर्थिक बर्षमा सूचिकृत बेरोजगार सहित सरोकारवालाहरुलाई अभिमूखिकरण गरिएको भन्दै रोजगार संयोजक पुनले आवश्यकता अनुसार काम गरिरहेको स्थानमा पुगेर समेत सहजिकरण गरिएको बताउनुभयो ।

जैमिनी नगरपालिकामा कामका लागि पारिश्रमिकमा आधारित कार्यक्रमको लागि कुल १ करोड २९ लाख ६५ हजार प्राप्त भएकोमा २२ वटा योजना सम्पन्न गर्दा कुल ८१ लाख ७६ हजार ९६ रुपैयाँ काममा संलग्न सम्बन्धित सुचिकृत बेरोजगारहरुको बैंक खाता मार्फत नै भुक्तानी गरिएको छ ।

गत आर्थिक बर्ष २०७८/७९ मा मोटरबाटो मर्मत योजना अन्तरगत २ हजार ५ सय ६५ दशमलव ५ मिटर कच्ची नाली र ३ सय १५ दशमलव ४४ घनमिटर सोलिङ गरिएको छ । सिँचाई तर्फ मेशिनरी वाल २ दशमलव ७३ घनमिटर निर्माण गरिएको छ भने वडा संगको समन्वयमा २ सय ४३ मिटर पक्की नाली निर्माण गरिएको रोजगार संयोजक पुनले बताउनुभयो ।

गोरेटो बाटो योजना अन्तरगत नयाँ सिँढी ३ हजार ३ सय ९७ वटा, ३ वटा चौतारी र ४ सय ५२ दशमलव ३८ घनमिटर सोलिङ गरिएको छ भने नगरपालिकाको समन्वयमा ३ वटा शौचालय निर्माण गरिएको रोजगार सेवा केन्द्रको तथ्याङ्क रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो