जैमिनीको हात्तिढुङ्गामा बनाइएको संरचनाको उद्घाटन, मन्दिरको प्रचारप्रसारमा जोड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ भदौ २०७९ ।

जैमिनी नगरपालिका ९ को हात्तिढुङ्गा मन्दिरमा बनेको संरचनाको बुधबार उद्घाटन गरिएको छ । बागलुङको जैमिनी नगरपालिका ९ पैयँथन्थाप लाम्सु दोभानमा रहेको शिद्धिविनायक गणेश मन्दिर (हात्तिढुङ्गा)मा बनेको मन्दिर सहितका संरचनाको उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले संरचनाको उद्घाटन गर्दै आफ्नो कार्यकालमा ग्रामिण क्षेत्रका नागरिकहरुको आवश्यकता अनुसार आफूले काम गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कँडेलले जनताले पठाएका जनप्रतिनिधिले जनभावना बुझेर काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । जनप्रतिनिधि गाउँ नफर्किने प्रचलन बढ्दै गएकाले जनताको विश्वासमा कमी आएको भन्दै उहाँले जनताका स–साना आवश्यकता बुझेर योजना बनाए कार्यन्वयन गर्न सहज हुने धारणा राख्नुभयो । हात्तिढुङ्गाको इतिहास सुन्दा पर्यटकीय सम्भावना प्रचुर रहेकाले यसको प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्त्री कँडेलले हात्तिढुङ्गा मन्दिरका लागि आफूले सक्दो पहल र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद तथा नेकपा माओवादी केन्द्रकी नेतृ बलावती शर्माले गणेश मन्दिरमा आफ्नो बाल्यकाल वितेको स्मरण गर्दै यहाँको महत्व संसारलाई बुझाउनुपर्ने बताउनुभयो । प्रचारप्रसारको कमिले ओझेलमा परेको हात्तिढुङ्गाको उचित संरक्षण र व्यवस्थापन गर्न सके पर्यटकहरु भित्राएर आम्दानी गर्न सकिने भन्दै उहाँले स्थानीय, प्रदेश र केन्द्रिय सरकारको नै यसमा ध्यान जान जरुरी रहेको बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनी नगरपालिकाले नगरभित्रका धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलहरुको खोजी गरिरहेको र यसको लागि बजेट समेत व्यवस्थापन गरेको बताउनुभयो । नगरपालिकामा भएका यस्ता स्थलहरुको संरक्षण र प्रचारप्रसार गरेर आयआर्जनको बाटो खोज्न नगरपालिका लागि परेको भन्दै उहाँले हात्तिढुङ्गा मन्दिरको लागि तत्काल पदमार्गको आवश्यकता रहेको औँल्याउनुभयो । मन्दिरमा पुग्ने बाटो नै असहज भए त्यो ठाउँको प्रचारप्रसार भएपनि मानिस आउन नसक्ने भन्दै उप प्रमुख शर्माले आफ्नो ठाउँबाट यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य लाल बहादुर परियार, वडाध्यक्ष सन्दिप थापा लगाएतका वक्ताहरुले पैयुँवासीहरुको चाहना हात्तिढुङ्गाको संरक्षण र प्रचारप्रसार गर्ने भएकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । मन्दिरसम्म पुग्ने पदमार्ग, राङ्खानीबाट आउनका लागि पुल, सो स्थानसम्म पुग्नका लागि मोटरबाटो तत्काल आवश्यक भएकाले यसको पहल गरिदिन उनिहरुले मन्त्री कँडेललाई आग्रह गरेका छन् ।

हात्तिढुङ्गामा मन्दिर मर्मत सहित वरपर सत्तल, शौचालय, तारवार, गेट लगाएतका संरचना निर्माण गरिएको छ । हात्तिढुङ्गाको नामले परिचित शिद्धिविनायक गणेश मन्दिरलाई जैमिनीको पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ । अहिले यस स्थानलाई स्थानीय र प्रदेश सरकारले समेत सहयोग गर्न थालेको छ ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयाँको लागतमा संरचना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमानन्द शर्माले जानकारी दिनुभयो । मन्दिर व्यवस्थापन सहित संरचना निर्माण भएपछि त्यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई थप सहज हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो